सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

अनलाइन दर्पण 2026-04-16
img

सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (बिहीबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो।

यसअन्तर्गत १० प्रतिशत (४ लाख २९ हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याई बाँडफाँट भइसकेको छ। साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूलाई र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ।

अब दोस्रो चरणमा कम्पनीले बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर (३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि सार्वजनिक गरेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन वैशाख ६ गतेसम्म दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा समय वैशाख १६ गतेसम्म थपिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE-NP B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो सेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार