काठमाडौं: जहाँनिया राणा शासनको विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदको सम्झनामा आजदेखि ‘शहीद सप्ताह’ सुरु भएको छ ।विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० गते आजदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम तालिकाअनुसार माघ १० गते (आज) बिहान ८ः०० बजेदेखि टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेका स्थानमा श्रद्धाञ्जलि सभाबाट कार्यक्रमको थालनी भएको छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेका स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेका स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ ।
त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । यस वर्ष पनि शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् ।