भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

अनलाइन दर्पण 2020-05-13
img

काठमाडौं , ३१ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि नेकपा कार्यालय धुम्बाराहीमा बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

स्थायी कमिटीका कतिपय सदस्यहरूको कोरोनाभाइरस कोभिड– १९ परीक्षण गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार कतिपय स्थायी कमिटी सदस्यको पीसीआर टेस्ट गर्न बाँकी रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

संसद् सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको मात्र पीसीआर टेष्ट गरिएको छ । भिम रावलको सुरक्षा गार्डलाई समेत सक्रमण देखिएको र सांसद् नरहेका सदस्यहरूको टेष्ट गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको उनले बताए ।

सांसदहरूको भने कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो । अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यसअघि बोलाइएको बैठक स्थगित गरिएको थियो । 

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।

सम्बन्धित समाचार

Advertisement