काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा आज मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ता संजन मेहताको मृत्यु भएको बताइएको छ ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाउनुका साथै एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।
एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने, ‘विस्तृत विवरण बुझ्दैछु । प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।
मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।