काठमाडौं, २९ भदौ। राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताउनु भएकाे छ ।
राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रिय बालअधिकार दिवस २०७५ मूल समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँडने अवस्था आउनु दुःखद भएको भन्दै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन् ।
उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यक्तामा जोड दिइन् । राष्ट्रपति भण्डारीले बालमैंत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भइरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् । उनले बाल अधिकार हनन्का घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढन पनि आह्वान गरिन् ।
राष्ट्रपति भण्डारीले बालबालिका भोलिको सक्षम र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको पनि बताइन् ।
बिहिबार रिपोर्टर्स क्लबमा निर्मलाका आमा दुर्गाले निर्मला पन्तको हत्या घटनामा राष्ट्रपति नबोलेको भन्दै राष्ट्रपतिबाट पनि सहयोगको अपेक्षा गरेको बताएकी थिइन् । अधिकारकर्मीहरुले पनि राष्ट्रपति अहिलेसम्म मौन बसेको भन्दै प्रश्न गरेका थिए ।