यज्ञराज उपाध्याय / टीकापुर। मृतक प्रवीण कब्दार मगरको हत्या गरिएको हो कि उनले स्वयं आत्महत्या गरेका हुन भन्ने कुराको अन्तिम अनुसन्धान प्रहरीले अहिलसम्म सकेको छैन ।
गत जेठ ५ गते मृत अवस्थामा फेला परेका मगरको हत्या नै भएको पारिवारिक श्रोत र अन्य नागरिकहरुले बताईरहेको भए पनि प्रहरी भने अन्तिम निष्कर्षमा पुग्न सकेको छैन ।
टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २५ मा बस्ने १६ बर्षिय मगर टीकापुरमै अवस्थित श्री बिरेन्द्र बिद्या मन्दिर माद्यामिक बिद्यालयमा हाल कक्षा १० मा अध्ययनरत थिए । घटनास्थलमा ५ गते आईतवार बिहान स्थानीयहरुले नाङ्गो अवस्थामा प्रवीणको शव देखे लगत्तै प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरिले मगरको शव फेला परेको कुरा परिवारलाई जानकारी नै नगराई टीकापुर अस्पतालमा ल्याएको थियो ।
मृतक मगरकी आमा लक्ष्मी कब्दार मगरले अस्पतालमा शव ल्याएर सबैले हेरेर सकेपछि आफू पनि अन्जान को रहेछ भनेर शव हेर्न आउदा आफ्नै छोरा देखेर मात्र आफुले थाहा पाएको बताईन । उनले आफ्नो छोराको हत्या नै गरिएको दाबी गर्दै हत्यारालाई कारवाहीका लागि शान्तिपुर्ण तरिकाले अगाडी बढ्दा सम्म पनि अहिलेसम्म प्रहरीले आफुलाई बेवास्ता गरेको बताईन ।
जेठ ५ गते नै प्रहरीले अबको ७ दिन भित्र घटनाको पुर्ण अनुसन्धान गरि सक्ने बताएको भएता पनि आज ३ हप्ता बितिसक्दा सम्म पनि अझै अनुसन्धानमै रहेको कुरा बताउनु दु:खद भएको टीकापुरका केही अगुवाहरुले बताएका छन ।
ईलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंह डोटिबाट सरुवा भएर आईसकेको २४ घण्टा नबित्दै घटना भएको भन्दै अहिलेसम्म घटनाको पुर्ण रुपमा अनुसन्धान नगरिदा मृतकका आफन्त अब न्यायका लागि नयाँ बाटो चुन्ने बताईरहेका छन ।
गत बिहिबार मृतकका आफन्त, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सञ्चारकर्मीहरुका बिच गरिएको छलफलमा मृतकका आफन्तहरुले अहिलेसम्म आफू शान्तिपूर्ण रुपमा न्यायको पर्खाइमा रहेको तर न्याय नपाएकाले अब न्यायका लागि आफू जस्तोसुकै कदम उठाउन समेत बाध्य हुने बताए । छलफलका क्रममा बिभिन्न राजनीतिक दलका नेताहरुले मृतक मगरको हत्या भएको स्पष्ट देखिएकाले प्रहरीले छिटो भन्दा छिटो हत्या नै भएको रिपोर्ट बनाएर हत्यारालाई कारवाही गर्नुपर्ने बताए ।
अहिलेसम्म प्रहरीले मृतक मगरको हत्या भएको भन्दै परिवारले दिएको उजुरीका आधारमा मृतक मगरको घटना हुँदा सम्म उनी सङ्गै रहेका दुई जनालाई पक्रेर जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको छ तर प्रहरीले मृतक मगरको हत्या नै गरिएको भनेर रिपोर्ट बनाएर अहिलेसम्म सार्वजनिक नगर्दा आमनागरिक लगायत मृतकका परिवार र आफन्तहरु चिन्तित अवस्थामा रहेका छन ।
मृतकका बुवा केशव बहादुर कब्दार मगरले प्रहरीले मृतकको शरिरमा कुनै घाउ नभेटिकाले हत्या नै भन्न नसकेको जवाफ बारम्बार दिएका कारण आफू चिन्तित भएको गुनासो गर्नु भएको छ । जतिले यो घटनाको बारेमा बुझे सबैले हत्या नै गरिएको भने पनि प्रहरीले भने यत्रो समयसम्म आफुलाई न्याय नदिएकाले दुखी भएको बताए ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले अस्पतालको पोस्टमार्टम रिपोर्टको कुरामा अल्झिएको कुरालाई मध्यनजर गर्दै नेकपाका नेता श्याम खत्रीले प्रहरीले मृतकको पोस्टमार्टम रिपोर्ट पाईसकेको र अब केही दिनमै सार्वजनिक गर्न सक्ने आश्वासन दिए । यदि प्रहरीले छिटोभन्दा छिटो आफ्नो कर्तव्य पुरा नगरे राजनीतिक दलहरुले आफुले गर्ने कार्यहरु गर्ने समेत बताए ।
मगर संघका एक महिला नेतृले मगरहरु सोझा भएका कारण अहिलेसम्म कुनै आन्दोलनहरु नगरिदा, ढुङ्गामुडा हान्ने काम नगरिदा, नगरपालिकाको कार्यालय, प्रहरी कार्यालय घेराउ गर्ने, तोडफोड गर्ने किसिमका अभद्र कार्यहरु नगरिदा अहिलेसम्म यो घटनालाई बेवास्ता गरिएको दाबी गर्दै छिटोभन्दा छिटो घटनाको पुर्ण विवरण सार्वजनिक गर्नुपर्ने र हत्यारालाई कारवाही गर्नुपर्ने बताईन ।
नेकपाका केन्द्रीय नेता एवं पुर्व माननीय हरि ज्ञवालि, नेपाली काङ्ग्रेसका नेता भुवनेश्वर अधिकारी, नवराज रावल, नेकपाका नेता ललित थापा"शिव", सुर्यचन्द्र भट्टराई लगायतले मृतकको शवको प्रकृती हेर्दा हत्या नै गरिएको जस्तो भएकाले प्रहरीले अस्पतालको रिपोर्टको आश भन्दा अगाडी अन्य खास अनुसन्धान गर्नुपर्ने र हत्याराले कारवाही, पिडितलाई न्याय दिनुपर्ने समेत बताए ।