​गृहमन्त्रीले भने– प्रचण्डकै घरधनीलाई पनि कारबाही हुन्छ, सुनकाण्डमा माछा मार्ने क्रम जारी छ

अनलाइन दर्पण 2018-06-06
img

काठमाडाैं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापाले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताए ।

प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले भने,  ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

ठेकेदारले समयमा काम पूरा नगरे वा ठेक्काको अवहेलना गरे सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै त्यस्ता सबैलाई कारबाही हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

सुनकाण्डमा माछा मार्ने क्रम जारी छ 
गृहमन्त्री थापाले सुनकाण्डमा माछा मार्ने क्रम जारी रहेको पनि बताएका छन् । साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको उनको दाबी छ । 

‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने  ‘अनुसन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका हुन् । ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’

सम्बन्धित समाचार

Advertisement