काठमाडाैं, २२ जेठ । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्ब ठगेको आरोपमा जेल सजाय भोगिरहेका व्यवसायी सुधीर बस्नेत सोमबार धरौटीमा रिहा भएका छन्। बस्नेत धरौटी तिरेर डिल्लीबजारको सदरखोर कारागारबाट रिहा भएका हुन् ।
काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि सोमबार छुटेका हुन्।
सदरखोर डिल्लीबजारका प्रमुख उपसचिव अरुण पोखरेलले बस्नेत धरौटीमा रिहा भएको पुष्टी गरे । प्रहरीले सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि १३ पुस ०७३ मा पक्राउ गरेको थियो ।
सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।
उनले ओरियन्टल र भेगास सिटीमा लगानी गरेका प्रभावशाली व्यक्तिको करिब ८० करोड रुपैयाँभन्दा बढी रकम विभिन्न माध्यमबाट फिर्ता गरेपछि पनि सर्वसाधारणकोमात्र १० अर्व रकम फिर्ता गर्नुपर्ने छ।