ल्यापटप चलाउन नजान्ने मन्त्री हटाउने प्रधानमन्त्रीको घोषणा, नजान्नेलाई सिक्न ६ महिना समय

अनलाइन दर्पण 2018-05-30
img

काठमाडाैं , १६ जेठ ।  प्रधानमन्त्री केपी ओलीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदा गर्ने घोषणा गरेका छन् । ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने र मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै प्रधानमन्त्रीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने घोषणा गरेका हुन् । 

 ‘मैले मन्त्रीपरिषदमा भनिसकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं,’ उनले भने, ‘बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम र एजेण्डा आउँछ ।’  ६ महिना सम्म मन्त्रीले सहयोगीको सहयोग लिन सक्ने पनि बताए । उनले थपे,  ‘६ महिनापछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटप लिएर जानु भनेर बिदा गरिन्छ ।’


 नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंगो देशलाई सुचना प्रविधि बनाउने सरकारका योजनाहरु सुनाउँदै थिए । 

उनले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन पनि आग्रह गरे । ‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ, कमाण्ड छैन भने कमाण्ड गर्न सक्ने हुनुहोस्,’ उनले भने । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो ।

‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’ 

बिना योजना अन्धाधुन्दा तरिकाले शिक्षण संस्थाहरुमा पढाई भइरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘वर्षभरि बालबालिकालाई पढाएर तँ फेल भईस्, अयोग्य भईस्, अनुत्तिर्ण भईस् भनेर असफलताको बिल्ला भिराईन्छ’, उनले भने, ‘विद्यार्थी फेल भएका हैनन्, राज्य फेल भएको हो, हाम्रो शिक्षा प्रणाली फेल भएको हो ।’

बालबालिकालाई अनुत्तिर्ण बनाउनु अपराध हो भन्दै उनले कुनै एउटा विषय नजान्दैमा कुनै पनि बालबालिका असफल नहुने टिप्पणी गरे ।

सम्बन्धित समाचार