एक हजार बालबालिका परे अपहरणमा

अनलाइन दर्पण 2018-04-14
img

नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । 

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् । 

लडाकूहरुले बालबालिकालाई हानी हुनेगरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ । 

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा १४ सयभन्दा बढी विद्यालयमा आक्रमणकारीले क्षति पुर्याएका छन् । 

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । 

युनिसेफले थप जानकारी दिँदै भनेको छ, “धेरै विद्यालयमा अझै पनि फेरी पढाई शुरु हुनसकेका छैनन, विद्यालय अत्याधिक क्षति भएको र सुरक्षाको प्रत्याभूति अझै नभएकाले विद्यालय फेरी खुल्न नसकेका हुन् ।” 

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वको ध्यान त्यसतर्फ गएको थियो । 

यो दुःखद् घटना भएको चार वर्षसम्ममा एक सय बालिका मात्रै घर फर्केका युनिसेफले जनाएको छ । 

सबैभन्दा पछिल्लो घटनाअनुसार डाम्चीमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परी कम्तीमा पाँच बालिका मारिएका छन् । 

यो पछिल्लो घटनाले त्यस क्षेत्रमा अहिलेसम्म पनि असुरक्षा र आतंक जारी छ भन्ने पुष्टि भएको अधिकारकर्मीले बताएका छन् । 

बालबालिकालाई असर पर्ने गरी विद्यालयमा पटक पटक भइरहेको आक्रमण अत्यन्त निन्दनीय छ,” नाइजेरियाका लागि युनिसेफका प्रतिनिधि मालिक फलले भने । 

सन् २००९ बाट बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी दशौं हजार व्यक्ति मारिएका छन् भने २३ लाख व्यक्तिले आफ्नो थातथलो छोडी अन्यत्र जानुपरेको छ । - एजेन्सी

 

सम्बन्धित समाचार

Advertisement