काठमाडौं,२६ मंसिर। दैलेखमा ग्यासको खानी रहेको पुष्टि भएको छ । चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले दैलेखको श्रीस्थान , नाभिस्थानलगायतका क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यास उत्खननको सम्भावना रहेको देखाएको हो ।
स्थानीयले लामो समयदेखि त्यहाँ पेट्रोलियमको सम्भावना रहेको भन्दै उत्खनन् गर्नपर्ने माग गरिरहेका थिए । सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट बनाएको छ ।
रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ ।नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन भने हुन सकेको थिएन ।
दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । श्रीस्थानमा झण्डै ३ सय वर्षदेखि अखण्ड रुपमा बत्ति बलिरहेको स्थानीयको भनाई छ ।