मालता र संगीताका लागि सहयोग संकलन अभियान, एक सातामै उठ्यो डेढ लाख

अनलाइन दर्पण 2016-12-07
img

आर्थिक अवस्था  कमजोरीका कारण उपचार अभावमा मृत्युवरण गरेकी गुल्मी पुर्कोट दहकी दुर्गाकुमारी भुसालका चार सन्तानको शिक्षा तथा जीवनयापनमा सहयोग गर्न छिमेकी गाविस बाँझकटेरीको मदाने युवा क्लबले फेसबुकमार्फत सहयोग संकलन  अभियान सुरु गरेको छ ।

गत मंसिर १४ गते मदाने युवा क्लव बाँझकटेरीको फेसबुक पेजमा पुर्कोटकी दुई बालिकाले आमाको किरिया गर्दै गरेको तस्वीरसहित परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनीहरुको जीवनयापनमा सहजता र शिक्षाका लागि सहयोग गर्न सबैमा अपील गरिएको थियो ।

त्यसपछि देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । अभियान सुरु भएको एक सातामै करीव ७० व्यक्ति तथा संस्थाबाट १ लाख ४२ हजार रकम जम्मा भइसकेको छ ।

सहयोग संकलन अभियानमा क्लवका पदाधीकारीहरू संगै  गुल्मेली कलाकार सन्तोष लम्सालले पनि यो अभियानमा सहयोग गर्दै आएका छन् ।

समयमै उपचार नपाएपछि गत मंसिर ३ गते ६ दिनकी सुत्केरी दुर्गाकुमारी भुसालको मृत्यु भएको थियो । बाबुले ६ दिनकी छोरीको हेरचाह गर्नुपरेको र आर्थिक अवस्था कमजोर भएका उनीहरुका लागि किरिया बसिदिने कोहि नभएपछि १३ बर्षीया मालता र ११  बर्षीया  संगीताले कक्षा  ७ र ४ कक्षाको पढाइ छाडेर आमाको किरिया बसेका थिए । मृतक दुर्गाका अन्य दुई छोरीहरुपनि छन् ।

उनीहरुको शिक्षाका लागि भन्दै चीनमा र काठमाडौंमा गरी २ लाखभन्दा बढी रकम छुट्टै संकलन भइसकेको छ ।
 

सम्बन्धित समाचार

Advertisement