धनगढी, २२ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रोक्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कैलालीका जिल्ला अध्यक्षसहित ७० जनाभन्दा बढी नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली सदरमुकाम धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री जादा उनलाई रोक्न सडकमा प्रदर्शनमा उत्रिएका बेला एमाले नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एमाले कैलाली अध्यक्ष दीर्घ सोडारीसहित सचिव रणबहादुर चन्द, नेता यज्ञराज बास्तोला युवा संघ नेपालका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरास्ववियुका कैलाली अध्यक्ष चुडामणी भट्ट लगायत ७० जना भन्दा बढी नेता कार्यकर्ता रहेको एमालेले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
धनगढी बन्द आह्वान गर्दै महोत्सव स्थल बाहिर टायर बाल्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
एमालेले बुधबार धनगढी बन्दको आह्वान गरेको छ ।