गौमूलमा स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

अनलाइन दर्पण 2017-09-18
img

काठमाडौं । अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि बाजुराकाे गौमूल गाउँपालिकाको गाउँसभाले विभिन्न आकर्षक निर्णय गर्दै चालु वर्षको बजेट विनियोजन गरेको छ । गाउँसभाले बेरोजगार युवालाई स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने  निर्णय छ । 

गत साता सम्पन्न प्रथम गाउँसभाले बेरोजगार युवालाई शैक्षिक प्रमाण–पत्रका आधारमा बिना धितो ऋण उपलब्ध गराएर युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा १५ लाखका दरले विनियोजन गरेको छ । उक्त गाउँपालिकामा ६ वडा छन् । 

यसअघिका विभिन्न सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगारलाई ऋण उपलब्ध गराउने विषय भाषणमै सीमित राखेकाले गौमूलले यसका लागि चालु आवमा ९० लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

ऋण उपलब्ध गराउन कार्यविधि तयार हुने क्रममा रहेको छ, ‘रकमको सीमा र ब्याज प्रतिशत कार्यविधिले तोक्छ,’ उनले भने ।

प्रमाणपत्र तह वा १२ कक्षाभन्दा माथि उत्तीर्णलाई उक्त ऋण उपलब्ध गराउने प्रारम्भिक योजना रहेको उनले बताए । उपाध्यक्ष सीता रोकायाले वार्षिक ६ प्रतिशतभन्दा बढी ब्याज नलाग्ने प्रावधान कायम गरिने जनाइन् ।

९८ प्रतिशत बासिन्दा कृषि तथा पशुपालन व्यवसायमा संलग्न छन् । कृषि र पशुपालनलाई प्रवद्र्धन गर्न गाउँपालिकाले ‘एक हल गोरु, एक दुहुनु गाई वा भैंसी र बाख्रा पालन व्यवसायलाई’ अनिवार्य गर्ने समेत  निर्णय गरेको छ ।

विपन्न समुदायको बसोबास रहेका साबिक दहकोट र मानाकोट गाविस मिलेर गौमूल गाउँपालिका बनेको हो ।

सम्बन्धित समाचार