काठमाडौं । अनावश्यक राजनीतिक हस्तक्षेपबाट हरेक क्षेत्र तहस–नहस बन्दै गएको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न भन्दै शिक्षा क्षेत्रमा क्रियाशील केही शिक्षकहरुको समूहले ‘पेसागत स्वतन्त्र शिक्षक पुञ्ज, नेपाल’ (मोपाट) गठन गरेको छ ।
सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुको पहलमा गठन भएको पुञ्जले शिक्षकहरुको पेसागत क्षमता विकास र शिक्षा क्षेत्रमा भइरहेको अनावश्यक राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्ने उद्देश्य राखेको शिक्षक पुञ्जका एक अभियन्ता डिशन कार्कीले बताए । देशभर छरिएर रहेका शिक्षकहरुको एक भेलाले संस्था दर्ताका लागि दीपकचन्द्र ओझाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन गरेको छ ।
तदर्थ समितिको उपाध्याक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा देवीप्रसाद शर्मा, कोषाध्यक्षमा सुभाव थापामगर, सह–सचिवमा बालाराम नेपाली, सदस्यमा कृष्ण पौडेल, जगतराज पाठक, सानुमाया पुलामी, रामहरि आचार्य, भूमिश्वर कँडेल, सीताराम विश्वकर्मा, गोपाल आचार्य, रजनी महर्जन, प्रेमसिंह चाड, रामप्रसाद राई, डिशन कार्की र सुफला अर्याल रहेका छन् ।
अध्यक्ष ओझाका अनुसार शिक्षक पुञ्जमा सामुदायिक तथा निजी क्षेत्रमा कार्यरत पेसागत रूपमा स्वतन्त्र शिक्षकहरु आवद्ध हुन सक्नेछन् । चितवन मुख्य कार्यालय रहने गरी स्थापना भएको शिक्षक पुञ्जको साङ्गठनिक संरचना संघीय संरचनाअनुसार नै देशभर निर्माण हुने उपाध्यक्ष नारायणप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार शिक्षक पुञ्जले राजनीतिक हस्तक्षेपबाट मुक्त रहेर शिक्षकको पेसागत क्षमता अभिवृद्धि लगायत शिक्षा क्षेत्रबाट देशका लागि आवश्यक पर्ने सम्पूर्ण योगदान गर्नसक्ने शैक्षिक जनशक्ति निर्माण, राज्यको शैक्षिक नीति निर्माण तहमा रचनात्मक भूमिका निर्वाह गर्नेदेखि धरासायी हुँदै गएको सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि सक्रिय भूमिका खेल्नेछ ।
शिक्षकहरुको पेसागत हकहितका नाममा अहिलेसम्म स्थापना भएका जति पनि संघ–संगठनहरु छन्, ती सबै कुनै न कुनै राजनीतिक दलको भातृ, भगिनी, शुभेच्छुक संगठनको रुपमा विकास भएका र तिनले शैक्षिक क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको तथा शिक्षकको पेसागत हकहितको लागि वकालत गर्न नसकेकाले नै आफूहरुले नयाँ वैकल्पिक समूह निर्माण गर्नुपरेको समितिका सचिव देवीप्रसाद शर्माले बताए । उनका अनुसार शिक्षकहरूलाई स्वयंशासित, बौद्धिक रुपमा स्वतन्त्र, आत्मस्वाभिमानी र आफ्नो स्तर कायम राख्न सक्ने तुल्याउन सके मात्र शैक्षिक गुणस्तर अभिवृद्धि हुनेछ । पेसाप्रति प्रतिबद्ध शिक्षकहरूको एकता कायम हुन सकेमा नेपालको शिक्षा क्षेत्रमा भएका सबै विभेद, विकृति र विसङ्गतिको अन्त्य हुने पनि सचिव शर्माले विश्वास लिए । शिक्षक पुञ्जको मूल लक्ष्य नै सार्वजनिक शिक्षामा सुधार र विकास गर्ने रहेकोले सबै राजनीतिक दल, नेताहरू, नागरिक समाज, सञ्चारकर्मी, अभिभावक र सरोकारवालाहरूलाई उनले आग्रह गरेका छन् । उनले भने - "कि तिमीहरू पनि नपढाऊ, राजनीति गर, पेसालाई हात्तीको देखाउने दाँतजस्तै बनाऊ भन्नुपर्यो हैन भने हामीलाई सबैले सहयोग गर्नुपर्यो, साथ दिनुपर्यो । अनि मात्र हाम्रो अभियान सफल हुन्छ । अभियान सफल भएमा फाइदा पुग्ने यही समाजलाई नै हो ।"