लामो समय काम गर्दा कुर्सीमा कसरी बस्ने ?

अनलाइन दर्पण 2020-02-04
img

बसेर काम गर्नेहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निर्माण गरिएका कुर्सीले समेत धेरै लामो समय बसिरहेमा काम गर्दैनन् ।

अर्थात् शरीरमा राम्रो पोस्चर कायम राख्ने एक मात्र उपाय भनेको नियमित हलचल गरिरहनु हो ।  स्वास्थ्यविद्हरुका अनुसार जस्तोसुकै कुर्सी र जुनसुकै पोजिसन भए पनि लामो समयसम्म एकैठाउँ बसिरहनुले हाम्रो शरीरमा नकारात्मक असर पार्छ जसमा जोर्नी र मांसपेसीहरु दुख्नु सामान्य हो । 

यसकारण पनि प्रत्येक घण्टा पाँच मिनेटका लागि भए पनि उठेर हिँडडुल गर्न उनीहरुको सुझाव छ ।  यसमा हामीले अफिसमा कसैसँग काम पर्दा इमेल वा म्यासेजबाट नभनेर सीधै उनीहरुकहाँ हिँडेर जाने बानी गर्न भनेका छन् ।

त्यस्तै घरबाट काम गरिरहेको अवस्थामा हामी झन् बढी सचेत रहनुपर्ने पनि भनिएको छ किनकि किचनको कुर्सी अथवा सामान्य सोफा अफिसको जति राम्रो हुँदैन । 

त्यसैले घरबाट काम गर्दा अझ बढी ब्रेक लिने गर्नुपर्छ । सोफामा सजिलोगरी बस्नुले तुलनात्मक रुपमा शरीरलाई कम असर पार्ने भएपनि लामो समय आराम गर्नु समेत ठीक नभएको बताइएको छ । 

त्यसैले हड्डी र मांसपेसीहरुलाई स्वस्थ राख्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हलचल गरिरहनु हो ।  अफिसको कुर्सीमा बस्दा राम्रो पोस्चर प्राप्त गर्नका लागि भने हामीले शरीरको धेरै भन्दा धेरै भाग कुर्सीसँग सम्पर्कमा राख्ने प्रयास गर्नुपर्छ । 

जस्तै यसमा कुर्सीको पछाडिको सपोर्ट हाम्रो ढाडको ‘कर्भ’ सँग मिलाएर बस्नुपर्ने हुन्छ । 

यसमा हाम्रो खुट्टा पनि फुटरेस्ट वा भुईँमा स्थिर रुपमा राख्ने गर्नुपर्छ भने कुर्सीको लम्बाइ पनि मिलाएर बस्ने गर्न स्वास्थ्यविद्हरुले सझुाव दिएका छन् । 

तर कुर्सीमा भएको आमरेस्ट अर्थात् हात राख्नेबारे भने चिन्ता गर्नु नपर्ने बताइएको छ ।  किनकि आमरेस्ट हात राख्न भन्दा पनि हामीलाई कुर्सीबाट उठ्न र बस्न सहज बनाउनका लागि निर्माण गरिएको हुन्छ । 

त्यसैले कुमको समस्या नभएकाहरुलाई आमरेस्टले कुनै प्रभाव पार्दैन ।  यसरी दिनभर काम गरेर कुर्सीमा बसिरहनु पर्दा थकान अपरिहार्य छ किनकी हाम्रा मांसपेसीहरु छिटै गल्ने प्रवृत्तिका हुन्छन् । 

तर कुर्सीलाई राम्रोसँग मिलाएर बस्दा भने सो थकान धेरै कम गराउन सकिन्छ ।  यसकारण लामो समयको बसाइँले जीउ दुखेको महसुस भएमा लगत्तै उठेर हिँडडुल गर्नु प्रभावकारी हुने बताइएको छ । द गार्जियनबाट

सम्बन्धित समाचार