सावधान, पातलो सिरानीले नशा च्यापिन सक्छ ! जानकारीको लागि शेयर गरौं ।

अनलाइन दर्पण 2018-09-23
img

  डा. सुनिल पौडेल

सुत्दा मोटो सिरानी प्रयोग गर्ने कि पातलो ? आम मानिसको धारणा छ– पातलो । कतिपय डाक्टरहरुले पनि पातलो सिरानी लगाउने सल्लाह दिएका हुन्छन् । तर, सबैका लागि पातलो सिरानी उपयुक्त नहुन सक्छ । कतिपयका लागि घातक पनि हुन सक्छ पातलो सिरानी ! कस्ता व्यक्तिलाई कुन सिरानी उपयुक्त हुन्छ त ? यसबारे क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग एस राज उपाध्यायले गरेको कुराकानी ।

सिरानी नमिलाई रातभरि ७ देखि १० घन्टा एउटै पोजिसनमा गर्धनलाई टर्चर गरेर सुत्यो भने के होला ?

सिरानी नमिल्दा मासु तथा नसा तर्कने, झस्का पस्ने, गर्धन अररो हुने वा सड्किने जस्ता समस्या हुन सक्छन् । यस्ता समस्या क्रमशः बढ्दै गए हड्डी खिइने तथा नसा च्यापिने सम्भावना पनि हुन्छ । त्यसमाथि आजभोलि मान्छेले गलत पोजिसनमा ल्यापटप, मोबाइल, ट्याब चलाइरहेका छन् । अनि बनेन त गर्धनको अचार ?

गलत सिरानीको प्रयोगले यति मात्रै होइन, टाउको दुख्ने, माइग्रेन, थकान, मेरुदण्डका अन्य समस्या पनि निम्ताउँछ । यसले तनाव बढाउने, फ्रेस नहुने, कामगर्दा चाँडै थाक्ने वा हात तथा काँध वरपर दुख्ने, चिडचिडापन बढ्ने, चाँडै रिसाउने, मुड खराब भइरहने, डिप्रेसन आदि पनि गराउन सक्छ ।

१५ मिनेट मात्रै हातको पोजिसन गलत भयो भने त दुख्छ । झन् ८–१० घन्टा गलत पोजिसनमा सुतियो भने त पक्कै पनि त्यसले स्वास्थ्य समस्या त ल्याउँछ नै । त्यहि भएर सही पोजिसनमा सुत्नु एकदम महत्वपूर्ण हुन्छ ।

सुत्ने क्रममा ‘बडी एलाइन्मेन्ट’ राम्रो भएन भने चाँडै हड्डी खिइने तथा नसा च्यापिने समस्या आउन सक्छ ।

सुत्दा सिरानी पातलो राख्नुपर्छ भन्ने आमधारणा छ । तर, तपाईँ पातलो सिरानी झन् खतरनाक छ भन्नुहुन्छ, कसरी ?

हो, कतिपय डाक्टरहरूले साधारण गर्धन दुखेको बिरामीलाई पातलो सिरानी प्रयोग गर्न सुझाएको मैले सुनेको छु । तर, यो सुझाव खतरनाक छ ।

सिरानी कसरी र कत्रो राख्ने भन्ने कुरो सुताइको पोजिसनमा भर पर्छ । कोल्टे परेर सुत्नेले पातलो सिरानी प्रयोग गर्दा गर्धनको हड्डी खिइने, नसा च्यापिने र गर्धन बांगिने सम्भावना बढी हुन्छ ।

पातलो सिरानीमा कोल्टे परेर सुत्दा काँधको लेबलभन्दा टाउको तल पर्छ । त्यसकारण मेरुदण्डमा असर पर्छ, जसले गर्दा कालान्तरमा नसा च्यापिने वा गर्धन बांगिने सम्भावना हुन्छ ।

हामी प्रायःजसो एकै साइडतिर बढी सुत्छौं । चित्रमा हेर्नुहोस्, रातभर यसरी पातलो सिरानीमा सुतेर यसरी गर्धनलाई टर्चर गरेपछि केहि महिना वा वर्षमा नसा त च्यापिहाल्छ । यसरी पातलो सिरानीमा कोल्टे सुत्दा सुतेको साइडमा नसा च्यापिने हुन सक्छ । त्यही भएर कोल्टे परेर सुत्नेलाई पातलो सिरानी खतरनाक मानिन्छ । उत्तानो परेर सुत्नेलाई भने पातलो सिरानी उपयोगी हुन्छ ।

सिरानी प्रयोग गर्ने सम्बन्धमा पनि आ–आफ्नै बुझाइ रहेको पाइन्छन् । स्वास्थ्यका लागि केको सिरानी राम्रो ?

हो, बजारमा फाइबर र कपासका दुवै खाले सिरानी पाइन्छन् । यीमध्ये कुन प्रयोग गर्नेबारे पनि ध्यान पुर्याउनुपर्छ ।

कोल्टे परेर सुत्नेले कपास वा एक कुरेत जति मोटो कटनकै सिरानीमा सुत्नुपर्छ, जुन ‘कम्प्रेसिबल’ हुँदैन । त्यसपछि मात्र ‘बडी एलाइनमेन्ट’ रातभरि एउटै अवस्थामा रहन्छ । कोल्टे परेर सुत्नेलाई फाइबरको मोटो सिरानी भने उपयोगी हुँदैन । किनभने फाइबरको सिरानीलाई शरीरको तौलले ‘कम्प्रेस’ गर्दै जान्छ । जसकारण गर्धन बांगिंदै जान्छ ।

उत्तानो सुत्दा भने टाउकोको पछाडिको भाग र ढाड एउटै लेबलमा हुन्छ । त्यसकारण उत्तानो परेर सुत्नेलाई पातलै सिरानी भए पनि हुन्छ । अथवा यस्ता व्यक्तिले पातलो फाइबरको सिरानी प्रयोग पनि गर्न सक्छन् ।

उत्तानो सुत्ने व्यक्तिले भने कहिल्यै पनि मोटो सिरानी प्रयोग गर्नु हुँदैन । उत्तानो परेर सुत्नेले कपासको सिरानी पनि प्रयोग गर्नु हुँदैन । सिरानी चित्रमा जस्तै गर्धनलाई सपोर्ट गर्ने खालको हुनुपर्छ ।
के बजारमा पाइने सिरानी गर्धनको सुरक्षाका लागि उपयुक्त छन् त ?

बिलकुल छैनन् । सिरानी कुन तथा कस्तो प्रयोग गर्ने भन्नेबारे व्यक्ति र उस्को सुत्ने पोजिसन अनुसार भर पर्छ । व्यक्तिको हाइट तथा जिउ डालले सिरानीको निर्धारण गर्छ ।

सिरानी किन्नुअघि सुत्ने तरिकाबारे निर्क्यौल गर्नुपर्छ । कोल्टे परेर सुत्नेले कटनको बाक्लो सिरानी र उत्तानो परेर सुत्नेले फाइबरको पातलो सिरानी प्रयोग गर्नु राम्रो हुन्छ । आजभोलि अर्थोपेडिक सिरानी पनि पाइन्छन् जुन सबैका लागि उपयोगी हुँदैनन् । त्यसैले विशेषज्ञलाई भेटेर मात्र सिरानीको सही प्रयोग सिक्नु पर्छ ।

गर्धनको नसा च्यापिएका वा हड्डी खिइएका बिरामीले कस्तो सिरानी प्रयोग गर्दा राम्रो हुन्छ ?

गर्धनको नसा च्यापिएका वा हड्डी खिइएका बिरामीले विशेषज्ञ डाक्टरको सल्लाह अनुसार सिरानीको प्रयोग गर्नुपर्छ । सिरानीको प्रयोग नजान्दा विभिन्न समस्या हुन सक्छन् । मकहाँ आएका केही बिरामी यसका उदाहरण हुन् । पातलो सिरानी प्रयोग गर्दा समस्या देखिएका थुप्रै बिरामी मकहाँ उपचारका लागि आएका छन् ।

बिरामीसँग राम्ररी बुझ्दा थुप्रै बिरामीलाई उपचार गर्ने डाक्टरले पातलो सिरानी प्रयोग गर्न सुझाएका रहेछन् । तर, ती डाक्टरले बिरामीको सुत्ने तरिका भने सोधेका रहेनछन् । कोल्टे सुत्नेले पातलो सिरानी प्रयोग गरेपछि समस्या त आउने नै भयो नि । पातलो सिरानीको प्रयोगले कोल्टे सुत्ने प्रायः बिरामीको गर्धनको नसा च्यापिएको हुन्छ । त्यसकारण पातलो सिरानी झन् खतरनाक भनेको हुँ ।

सिरानीकै कारण स्वास्थ्यमा आउन सक्ने समस्याबाट बच्ने उपायहरूबारे बताइदिनुहोस् न ?
सबैभन्दा राम्रो सोलुसन भनेको विशेषज्ञ डाक्टरको सल्लाह लिने नै हो । डाक्टरलाई आफु सुत्ने पोजिसनबारे भन्नुपर्छ । उहाँले तपाईंको जीउडाल, सुत्ने पोजिशन र हिस्ट्री हेरेर सही सल्लाह दिनुहुनेछ ।

डाक्टरलाई भेट्न सम्भव छैन भने कोल्टो परेर सुत्नेले बाक्लो कपासको सिरानी प्रयोग गर्नुपर्छ । उत्तानो परेर सुत्नेले पातलो फाइबरको सिरानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित समाचार

Advertisement