पाल्पा, १ भदौ । पूर्वखोला गाँउपालिकाले स्वास्थ्य चौकीमा पुगेर आफ्नो गर्भ परीक्षण गराउने महिलालाई एक क्यारेट (३० वटा) अण्डा उपहार दिन शुरु गरेको छ । गर्भवती महिलाले अण्डा पाउनका लागि स्वास्थ्य चौकीसम्म पुगेर गर्भजाँच सम्वन्धी प्रोटोकल ( चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनाको गर्भ जाँच) पुरा गरेको हुनुपर्छ ।
गाँउपालिकाले ‘जिरो होम डेलिभरी’ को लक्ष्य पुरा गर्न तथा गर्भवती महिलालाई पोषणयुक्त खानाका लागि सहयोग पुरयाउन अण्डा उपहार दिन शुरु गरेको हो ।
वडा नं ५ मा पर्ने बीरकोट स्वास्थ्य चौकीमा विहीबार विशेष कार्यक्रम गरी गाँउपालिकाले अण्डा उपहार दिने कार्यको थालनी गरेको छ ।
गाँउपालिका अध्यक्ष नुन बहादुर थापाले चार पटक गर्भजाँच गराएका संगिता सारु, सुस्मिता रुचाल र विनाकुमारी रानालाई एक एक क्यारेट अण्डा हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।
बीरकोट स्वास्थ्य चौकीमा शुभारम्भ भएसंगै गाँउपालिकाले बाँकी पाँचवटा वडाका स्वास्थ्य चौकीहरु सिलुवा, रिङनेरह, जल्पा, देवीनगर, र हेक्लाङमा समेत कार्यक्रम शुरु भएको जनाएको छ ।
पूर्वखोला गाँउपालिकाले चालु आर्थिक बर्ष भित्र १५० देखि २०० महिला गर्भवती हुने अनुमान गरेको छ । अण्डा उपहारका लागि सोही अनुसार बजेट विनियोजन गरेको जनाएको छ ।
त्यसो त केन्द्र सरकारले चालु आर्थिक बर्षको बजेटमै गर्भवती महिलाले चार पटक गर्भपरीक्षण गरेवापत ८०० रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।
स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ अभियान शुरु गरेको पूर्वखोला गाँउपालिकाले यसअघि ८० बर्ष माथिका बृद्धबृद्धालाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यको थालनी गरेको थियो ।