नेपाली समाजमा अधिकांशले यो मान्यतामा विश्वास गर्छन् कि गर्भावस्थामा आमाले खाने कुराले बच्चाको लिंग र छालाको रंगमा प्रभाव पार्छ । गर्भावस्थामा आमाले मुला, गाँजर खाए छोरा जन्मिन्छ भने फर्सी खाए छोरी छन्मिन्छिन् । यस्तै, दूध, दही, काँचो नरिबल धेरै खाए बच्चा गोरो जन्मिन्छ । आखिर यो मान्यतामा सत्यता कत्तिको छ ? साँच्चै गर्भवती आमाले खाने कुराले बच्चा कालो या गोरो जन्मिने नियममा प्रभाव पार्छ ?
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. बिमल थापा यस्ता तर्कमा कुनै सत्यता नभएको बताउँछन् ।
डा. थापा : यो सत्य होइन । गर्भवतीले खाने कुराले बच्चाको छालाको रंगमा प्रभाव पार्दैन । आमाबाबुको जिनको प्रभावले बच्चा कालो या गोरो हुने हो । आमा र बाबुमा हुने जिनले बच्चाको रङ निर्धारण गर्छ, यसमा क्रोमोजोमको भूमिका हुन्छ । आमा र बाबुमा हुने एक्स, वाई क्रोमोजोमको प्रतिशतको मात्राले बच्चा कति कालो या गोह्रो हुने भन्ने भूमिका खेल्ने हो ।
त्यसो भए दुवै काला बाबु र आमाबाट किन गोरो बच्चा जन्मिन्छन् र दुवै गोरा बाबुर आमाबाट कालो बच्चा जन्मिन्छन् त ?
डा. थापा : जिनको प्रभाव बाबु र आमाकोमात्रै नभएर दुबैतर्फका अघिल्ला पुस्ताहरुको समेत पर्छ । अघिल्ला पुस्ताको जिनको प्रभावका कारण बच्चा आफ्ना आमा र बाबुभन्दा विल्कुल फरक रङको जन्मिन सक्ने सम्भावना हुन्छ । जेनेटिकबाहेक कुनै रोग लागेर पनि यस्तो हुन्छ । त्यसो त जिनलाई वातावरणले पनि प्रभाव पारेको हुन्छ । तर, वातावरणको प्रभाव स्पष्टसँग देखिन पुस्तौ समय लाग्छ । अमेरिकन÷युरोपियनहरु धेरै गोरो हुनु र अफ्रिकनहरु धेरै कालो हुनुको कारण जिनमा वातावरणसमेत प्रभाव पर्नु हो ।
अनि, खाने कुराले बच्चाको लिंगमा प्रभाव पार्ने विश्वास कति सत्य छ ?
डा. थापा : विश्वास गर्नु बेकार छ । गर्भको बच्चाको लिंग आमा–बाबुको शरीरको सेक्स क्रोमोजमले निर्धारण गर्दछ । मानव शरीरमा दुई थरी सेक्स क्रोमोजम हुन्छन् । स्त्रीलिंगी एक्स र पुरुषलिंगी वाई । यीमध्ये पुरुषको शरीरमा छोरी र छोरा हुने क्रमशः एक्स र वाई हुन्छन् भने महिलाको शरीरमा छोरी हुने वाई र वाई मात्रै । पुरुषबाट महिलामा एक्स क्रोमोजमको बिउ गए छोरी र वाई क्रोमोजमको बिउ गए छोरा जन्मिन्छ ।
विश्वका देशहरुमा फरक–फरक मान्यता छन् । मुला खाए छोरा जन्मिन्छ भन्ने भ्रम नेपालीमा भएजस्तै फरक–फरक मान्यता ती मुलुकमा पनि छन् । गर्भपतिले के खान हुने, के खान नहुने भन्नेसम्मका फरक–फरक धारणा छन् । विज्ञहरुका अनुसार गर्भावस्थाको भोजनका विषयमा वैज्ञानिक तथ्यभन्दा पनि समाजका परम्परागत धारणा र हल्लाको ठूलो भूमिका भएको पाइन्छ । ती कतिपय मान्यता ठीकै पनि छन् भने धेरै गलत । ‘गर्भवतीले फलफूल र तरकारी प्रसस्त खानुपर्छ, सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागको एक भाग तरकारी तथा फलफूल हुनैपर्छ । माछा, मासु, अण्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त र दूध, दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पर्याप्त खानुपर्छ । काँचो मासु र अण्डा अहितकर हुनसक्छ ’ भनेर वैज्ञानिकहरुले सुझाव दिने गर्छन् । तर, कतिपय देशमा अनौठा मान्यता छन्, एजेन्सीको सहयोगमा तयार पारिएको यो सामाग्री पढ्नुहोस् :
–दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ । त्यहाँका जुलु समुदायका गर्भवती महिलालाई ‘इसिलाम्बेजो’ नामको हर्बल जडिबुटी खुवाईन्छ जसमा जनावरको पिसाबदेखि बिभिन्न झारपातको धुलोसमेत मिसाइन्छ ।
–इरानमा गर्भवतीलाई अनारको जुस खुवाउनु हितकर मानिन्छ ।
–सेनेगलमा जनावरको हड्डीको मासी गर्भवती महिलालाई खुवाइन्छ ।
–नाइजेरियाको एउटा ग्रामीण वस्तीका आदिवासीहरु शंखेकिरा खान्छन् तर, गर्भवती महिलालाई खान दिँदैनन् । गर्भवतीले शंखेकिरा खाँदा बच्चा शंखेकिराझैँ सुस्त हुने मान्यता छ ।
–जापानमा मसलेदार र पिरो खानेकुरा गर्भवतीलाई खुवाउनु हुन्न भन्ने मान्यता छ । यस्तो खानेकुरा आमाले खाएमा बच्चा सन्काहा हुने जापानीहरुको धारणा पाइन्छ ।
–अमेरिकामा गर्भवती आमाले स्ट्रबेरी र खुर्सानीको अचार खाँदा बच्चाको शरीरमा बिभिन्न चिनोहरु आउने मान्यता छ ।
–मेक्सिकोमा भने गर्भवती महिलाले अण्डा खाए जन्मिने बच्चाको शरीर गन्हाउने मान्यता व्याप्त छ ।
–फिलिपिन्समा सुत्केरी हुन लागेका महिलालाई का“चो अण्डा खुवाइन्छ । कारण रहेछ, अण्डाले बच्चा जन्मिपने बाटो चिप्लो बनाइदिएर सजिलो पारिदिने मान्यता ।
–चीनमा गर्भवतीलाई गँगटो खुवाएमा बच्चा एघार औँले हुने धारणा पाइन्छ । आमाले दुध पिए बच्चा गोरो हुने विश्वास पनि राख्छन् ।
–भारतको आन्ध्र प्रदेशमा गर्भवतीलाई मेवा र फर्सी खाना दिईंदैन । खुवाए गर्भको बच्चालाई ज्वरोले सताउने मान्यता राखिन्छ । गुजरातमा भने गर्भवतीले दूध, दही र खेरा खाँदा बच्चालाई गर्भमै चिसो हुने तथा बच्चा तुहिने मान्यता व्याप्त छ ।
–तान्जिानियाका कतिपय क्षेत्रमा गर्भवती महिलालाई मासु खान दिईंदैन । आमाले मासु खाए बच्चा पनि जनावरजस्तै हुने धारणा छ ।
–अफ्रिकाका कतिपय ठाउँमा गर्भवती महिलाले अण्डा खाए बाँझोपनको समस्या निम्तिने बताइन्छ ।