मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या आउँछन् । त्यसैले, मौसमअनुसार छालाको हेरचाहमा उत्तिकै होशियारी अपनाउनुपर्छ । गर्मीमा धूलो, धूवाँ, प्रदूषण एवम् चर्को घामको समस्या बढी हुन्छ । छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट जोगिनुपर्छ ।
गर्मी मौसममा छालाको नियमित डीप क्लिञ्जिङ आवश्यक हुन्छ । दैनिक दुईपटक एलोबेरा, लेमन, मिल्क एक्सट्रेक्ट, पिपरमिण्ट आदिबाट बनेको फेसवासले क्लिञ्जिङ गर्नुपर्छ । त्यसपछि टोनिङ गर्दा छाला मुलायम एवम् चम्किलो हुन्छ । क्लिञ्जिङपछि धूलोको कण बाहिर निस्किएर छाला सफा हुन्छ । क्लिञ्जिङले छालालाई आवश्यक पोषण प्रदान गर्छ ।
गर्मीले गर्दा छालामा देखापर्ने अर्काे समस्या घमौरा हो । गर्मीमा छाला निकै संवेदनशील हुने भएकाले यसबाट जोगिने उपाय अपनाउनु आवश्यक छ । घामले गर्दा छाला रातो हुँदै जान्छ र त्यसमा स–साना फोका देखापर्छन् । त्यसबाट बच्न बाहिर हिँड्दा छालालाई सकेसम्म घामबाट जोगाउनुपर्छ । चर्काे घाममा हिँड्नु हुँदैन । चिसो पानीले दैनिक नुहाउँदा पनि घमौराबाट जोगिन सकिन्छ । लामो समयसम्म पनि घमौराको समस्या समाधान नभए विशेषज्ञको सल्लाह लिनुपर्छ ।
गर्मीमा अल्ट्राभोइलेट किरण सोझै छालामा पर्छ, जसका कारण छालामा विभिन्न प्रकारका समस्या देखापर्छन् । सनबर्नले छालामा कालो धब्बा, चाउरी तथा दागको समस्या उत्पन्न हुन्छ । त्यसैले, गर्मीमा दैनिक सनस्क्रिन लगाउनुपर्छ ।
सनबर्नबाट जोगिन घरबाहिर निस्कनुअघि सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ । घरमै बस्दा पनि सनस्किन लगाउनु आवश्यक हुन्छ । घामको हानिकारक किरणबाट जोगिन एसपीएफ १५ युक्त लोसन लगाउनु उत्तम हुन्छ ।
सनस्क्रिन घरमा बस्दा होस् वा बाहिर निस्कँदा गर्मी मौसममा अनिवार्य नै छ । गर्मीमा कृत्रिम प्रकाशले पनि छालामा असर पु¥याउँछ । सोझै घामको किरण नपरे पनि रेडिएशन घरभित्र पनि हुन्छ । यसैगरी भान्सामा काम गर्दा ग्यासको तापले छालामा असर पु¥याउँछ । त्यसकारण घरभित्र पनि लोसन प्रयोग गर्नु जरुरी हुन्छ ।
खानपानमा ध्यान पुर्याइएन भने जति नै हेरचाह गरे पनि छाला स्वस्थ रहँदैन । शरीर स्वस्थ नभए सौन्दर्य प्रशोधनको प्रयोगले मात्र सकारात्मक प्रभाव पार्न सक्दैन । यस कारण स्वस्थ खानामा ध्यान दिनु अत्यन्त आवश्यक छ । छालालाई स्वस्थ राख्न खानपानको ठूलो भूमिका हुन्छ । छालाको स्वास्थ्यका लागि सन्तुलित वा पौष्टिक आहाराको आवश्यकता पर्छ । गर्मीमा धेरै चिल्लो पदार्थ खानु हुँदैन । शरीरले सजिलै पचाउन सक्ने हलुका खाना खानुपर्छ । मौसमी तरकारी, रसिला खानेकुरा, तरबुजा, खरबुजा, आँप, लिची आदिको सेवन बढाउनुपर्छ । प्रशस्त मात्रामा पानीका साथै जुस, कागती पानी तथा अन्य तरल पदार्थ पिउनुपर्छ ।
गर्मीमा छालाको चमकमा कमी आउँछ । यसका लागि बडी लोसन प्रयोग गर्नु उपयुक्त हुन्छ । यो मौसममा छालाको चमक हराउँछ । छालाको चमक पुनः प्राप्त गर्न बडी पोलिस आवश्यक छ । बडी पोलिसमा पूरा शरीरमा पोलिस गरिन्छ । पोलिसमा गुणस्तरीय प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसका लागि बडी क्रिम, बडी वेल, बडी साल्ट, बाम, बडी प्याक तथा एक्सफोलिएशन क्रिम प्रयोग गरिन्छ । बडी स्क्रब पनि पोलिसकै एक हिस्सा हो । यसले छालाको रोमछिद्रमा हुने फोहोर सफा गर्छ ।