शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिने लालबाबुकाे चेतावनी

अनलाइन दर्पण 2018-01-06
img

काठमाडौं, २२ पुस । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले भने,“हामी राष्ट्रिय सभाको निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं।”

अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयले जुन ठाउँ लिईरहेको त्यसबारे टिप्पणी गर्दै भने,“प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आईरहेको छ। यसलाई मैले अस्वभाविक मानेको छैन ।”

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने,“सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । ”

सम्बन्धित समाचार