काठमाडौं । सरकारले विभिन्र प्रकृतिका विरामीलाई जीवनवृतीका लागि मासिक ५ हजार नगद प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र गम्भीर प्रकृतिका विरामीहरूलाई मासिक पाँच हजार जीवनवृतीका लागि दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले यस्ता विरामीलाई जिविकोपार्जन स्वरुप भत्ता दिने निर्णय गरेको हो । यसअघिनै सरकारले मिर्गौला फेल भएकाहरुको आजिवन डायलासिस र प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरिसकेको छ ।त्यस्तै विपन्न नागरिकका लागि क्यान्सर र स्पाइनल इन्जुरीको उपचारका लागि एक लाख रुपैयाँका दरले उपचार खर्च दिने गरेको छ ।
अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम सूर्तिजन्य पदार्थमा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।
स्वास्थ्य सचिवमा डा. चौधरी नियुक्त
त्यस्तै बिहीबार बसेको बैठकले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । चौधरी स्वास्थ्य मन्त्रालयकी प्रमख विशेषज्ञका रूपमा कार्यरत थिइन् ।स्वास्थ्य सचिवकालागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए ।
डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पदपूर्ति भएको छ । डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।
वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।