युन ह्याविट्याट र युवा कृयाकलाप समाज (सोया), भक्तपुरको सहकार्यमा सञ्चालन भई रहेको Post ODF Support in Bhaktapur परियोजना अन्तर्गत कार्यक्रम संचालन भएका चाँगुनारायण नगरपालिकाको वडा नं. १, २, ७, ९ र सूर्यविनायक नगरपालिकाको वडा नं. १, ४ र ८ नं. वडाका वडा प्रमुखहरु, वडा सचिवहरु, वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्यहरु लगाएत जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख, उप प्रमुख तथा गैसस प्रतिनिधीहरुलाई पूर्ण सरसफाई विषयक १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
गोष्ठिमा खानेपानी तथा ढल निकास विभाग, सामाजिक परिचालन शाखाका प्रमुख एवं राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य समाजशास्त्री कमल अधिकारीले पूर्ण सरसफाई मार्गनिर्देशन २०७३ अन्तर्गत सरसफाईका सूचकहरु, सरसफाई रणनीतिक योजना निर्माण गर्ने विषयमा छलफल गर्दै सोका लागि सरोकारवालाहरुको भूमिका र दायित्व बारे प्रस्ट्याउनु भएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने क्रममा सरोकारवाला निकायहरु, स्थानीय संघ संस्था लगाएत सरसफाई अभियन्ताहरुको उत्साहजनक भूमिका रहेकोले भक्तपुर जिल्ला निश्चित समयमै खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुन सफल भएको तत्पश्चात पूर्ण सरसफाई उम्मूख क्षेत्र हुनका लागि पनि यस विषयमा सबै सरोकारवालाहरु एवं स्थानीय निकाय, जनप्रतिनिधीहरुको महत्वपूर्ण सहभागितामा मात्र सफल हुने भएकोले आगामी दिनहरुमा पूर्ण सरसफाई रणनितिक योजना सहित अगाडि बढ्नु पर्ने विषयमा अन्तरक्रिया भएको थियो ।