युवा कृयाकलाप समाजकाे  २३ औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइन दर्पण 2017-09-20
img

भक्तपुर, ३ असोज ।  जिल्लामा खानेपानी तथा सरसफाईकाे क्षेत्रमा कार्य गर्ने अग्रणी संस्था युवा कृयाकलाप समाज (सोया)  काे  २३ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । 

२३ वर्ष अघि १८ जना संस्थापक सदस्यहरुको अगुवाईमा समाजमा छरिएर रहेका यूवा वर्गलाई एकत्रित गरी उनीहरुलाई आयमुलक, सिपमुलक तथा नेतृत्वदायी कृयाकलापहरुमा संलग्न गराई स्थानीय टोल, गाउँ, जिल्ला गर्दै समग्र देशकै उत्थानका लागि विभिन्न विकास निर्माणका कार्यहरु गर्ने लक्ष्य लिई स्थापित समाज (सोया) ले मंगलबार सूर्यविनायक रिसोर्टमा एक समारोहका बीच साधारण सभा सम्पन्न गरेकाे हाे । 

समाजका अध्यक्ष श्री राध्यश्याम दुवालको सभापतित्वमा सम्पन्न समारोहमा समाजका कोषाध्यक्ष श्री दया प्र. न्याईच्याई र सचिव श्री विजय लोहलाले अार्थिक प्रतिवेदन तथा  विभिन्न सरकारी एवं राष्ट्रिय/अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा समाजद्वारा संचालित विविध कार्यक्रमहरुको जानकारी दिनु भएको थियो भने  निवर्तमान अध्यक्ष श्री पहलमान श्रेष्ठज्यूले संस्थाको परिचय सहित उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सह–सचिव श्री आशिष घिमिरेले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भई सोयाले भक्तपुर जिल्लाको खानेपानी तथा सरसफाई क्षेत्रमा गरिरहेकाे कामकाे  प्रशंसा गर्नु भयो । 

संस्थाका सल्लाहकार श्री अनन्त प्रसाद धौभडेल, यूएन ह्याविट्याटका भक्तपुर जिल्ला संयोजक श्री पार्वती दंगाल, वडा नं. ६ का वडा अध्यक्ष श्री रामेश्वर ध्वजू , गै.स.स.भक्तपुरका सचिव श्री सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ, भक्तपुरका सभापति श्री पुस्कर बुढाथोकी, ने.रे.सो., भक्तपुरका महामन्त्री श्री परशुराम पाण्डे लगाएतले सोया भक्तपुरकै एक  उत्कृष्ट गै.स.स. रहेको चर्चा गर्दै समाजकाे अागामी दिनमा प्रगतिको कामना  समेत  ब्यक्त गर्नुभयो ।

 

 

सम्बन्धित समाचार