काठमाडौं , ३१ भदौ । दशैँको माहोल सुरु भइसक्यो । बेलुकापख घरको छतमा निस्केर आकाशतिर नजर डुलाउँदा दशैँ आएको संकेत गर्छन्, बग्रेल्ती उडिरहेका चङ्गाहरुले । शहरी क्षेत्रका प्रायः केटाकेटी चङ्गामा रमाउन सुरु गरिसके ।
बजारमा नयाँ–नयाँ डिजाइनका चङ्गा बेच्न राखिएका देखिन्छन् । नेपालमा चङ्गा उँडाउने मौसम नै दशैँताका हो । तर, चङ्गा कहाँबाट कुन प्रयोजनका लागि सुरु भयो, विश्वमा चङ्गा कसले के कामका लागि प्रयोग गर्यो र अहिले विश्वमै रमाइलो खेलको रुपमा कसरी परिचित भयो, थाहा छ ? चङ्गाको इतिहास यस्ताे रहेको छ :
कतिपयलाई विश्वास नलाग्न सक्छ, तर चङ्गाको सुरुवात दुई हजार वर्ष अघिदेखि भएको इतिहास भेटिन्छ । अधिकांश प्रमाणहरु जुधाउँदा चङ्गाको प्रयोग चीनबाट सुरु भएको भेटिन्छ । चीनको पूर्वी क्षेत्र साङडोङबाट चङ्गाको प्रयोग सुरु भयो ।
एक पौराणिक कथाअनुसार चिनियाँ किसानले आफ्नो शीरको टापी हावाले नउडाओस् भनेर धागोले बाँध्ने गर्थे । यो झण्डै २८ सय वर्षअघिको कुरा हो । यही अवधारणाबाट चङ्गाको कहानी सुरु भएको मानिन्छ ।
बाँसको फ्रेमलाई रेसम र कागजले ढाकेर पहिलो चङ्गा निर्माण गरिएको थियो । यो चङ्गा साधारण तर टिकाउ थियो ।
तत्कालीन राजाहरुले सिपाहीहरुका लागि तथा युद्धको रणनीति बनाउन कालो रङको चङ्गा प्रयोग गरेको इतिहास त सबुत नै भेटिन्छ । यसलाई आधार मान्दा धेरै बर्षसम्म पनि युद्ध र निगरानीका लागि चङ्गा प्रयोग भएको तथ्य अगाडि आउँछ ।
चीनकै हान राजबंशका जनरल हान सीनले आफ्ना सेनाहरुलाई सुरुङ मार्गबाट कति पर आफ्ना सत्रुहरु छन् र उनीहरु भएको ठाउँसम्म पुग्न सेनालाई कति समय लाग्छ भनेर नाप्न चङ्गाको प्रयोग गर्थे । उनले शहरको एउटा ढोकामा बसेर चङ्गा उँडाउने गर्थे । यो रणनीति प्रयोग गरेरै उनले थुप्रै युद्ध जितेको पनि सुन्न, पढ्न पाइन्छ ।
आविस्कारसँगै चङ्गाको प्रयोग राम्रा र नराम्रा दुवै काममा भएको भेटिन्छ । १७औं शताब्दीमा बौद्ध भिक्षुकहरुले चङ्गाको प्रयोग अन्नपातको समृद्धि र आकाशमा रहेका पिचासहरुलाई भगाउन पनि गर्थे । यस्तै, एउटा व्यक्तिले आफूलाई एउटा ठूलो महलको छानामा पुर्याएर त्यहाँबाट सुनको मुर्ति चोरी गर्नका लागि पनि निकै ठूलो चङ्गाको प्रयोग गरेको थियो भन्ने इतिहास भेटिन्छ । तर, दिनानुदिन चङ्गाको लोकप्रियता बढ्दै गयो । र, अन्ततः चीनबाट पश्चिमा संस्कृतिमा पनि यसको उपयोग हुन सुरु भयो ।
सन् १२९५ मा चङ्गाको निर्माण र यसलाई उँडाउने बिधिसमेटेर यूरोपियन खोजकर्ता मार्कोपोलोले एउटा दस्तावेज नै तयार पारेका थिए । १६औं शताब्दीका किताब र अन्य साहित्यिक रचनादेखि बच्चाको खेलौनाको रुपमासमेत चङ्गाको लोकप्रियता निकै बढ्यो । १८औं शताब्दीतिर चङ्गाको प्रयोग युद्धमा र बच्चाको खेलौनामा मात्र सिमित रहेन, विज्ञानजस्तो नयाँ क्षेत्रमा पनि हुन थाल्यो ।
सन् १७४९ मा स्कटिस मौसमविद् अलेक्जेन्डर विल्सनले ३ हजार फिटको उचाइमा हावाको तापमान नाप्नका लागि चङ्गामा थर्ममिटर जडान गरेर नयाँ प्रयोग गरेका थिए ।
त्यसैबेलादेखि अमेरिकाको मौसम सेवाले पृथ्वी र मौसमको पूर्वानुमानको अध्ययन र रेकर्डिङमा चङ्गाको प्रयोग गर्न थालेको थियो । तीन वर्षपछि अर्थात् सन् १७५२ मा बेन फ्रेंकलिन र उनका छोरा विलियमले आफ्नो प्रसिद्ध प्रयोग ‘बिजुली चम्कदा पनि बिजुली उत्पादन हुन्छ’ भन्ने खोजलाई सिद्ध गर्न चङ्गाको उपयोग गरेका थिए ।
राइट दाजुभाईले १९औं शताब्दीको अन्ततिर आफ्नो पहिलो हवाई जहाज निर्माणको अगाडि पनि चङ्गालाई त्यसको सहायक बनाएर खोज गरेका थिए ।
अर्को ७० बर्षमा नयाँ र पेन्टेट चङ्गाका डिजाइनहरुले तीब्र गति लिइरहेको थियो । हिरा चङ्गा, पुच्छररहित चङ्गा, लचिलो चङ्गा आदि । यसले आधुनिक लट्टाईं र चङ्गाको विकासमा मद्दत गर्यो ।
१९५० को दशकतिर नासाले पनि अन्तरीक्ष यान रिकभरी मेसिनहरुलाई मद्दत गर्नका लागि चङ्गाको उपयोग सुरु गरिसकेको थियो । अल्ट्रालाइट अन्तरीक्ष वायु र नयाँ डिजाइनहरुको विकाससँगै चङ्गा उद्योगको भविश्य सधाका लागि उज्ज्वल भयो । सन् १९६४ मा ‘द अमेरिकन काइटफ्लायर्स एसोसियसन’ नै स्थापना भयो । अहिले यो एसोसियसनका विश्वका ३५ देशहरुमा ४ हजार भन्दा पनि धेरै सदस्यहरु छन् ।
यो एसोसियसन स्थापना भएपछि त चङ्गाको उद्योग निकै तिब्रसाथ अगाडी बढेको छ । चङ्गा उद्योगले वर्तमान समयमा निकै नै प्रगति पनि गरिसकिेको छ । यसको प्रमुख उद्देश्य भनेको नयाँ अभिनय गर्नु र करोडौं मानिसहरुलाई मनोरञ्जन दिनु नै हो । नेपालमा पनि चङ्गाको प्रयोग मनोरञ्जनकै लागि प्रयोग हुन्छ । न्यूजसेवाबाट