भक्तपुर, २० भदाै । भुकम्प गएको दुर्इ वर्ष भन्दा लामो समय वितिसक्दा पनि भुकम्प पीडितको समस्या भने अझैं जस्ताकाे तस्तै रहेको छ ।
सरकारले पाँच वर्ष भित्र पूर्नर्निमाणको काम सक्ने भनेको भएपनि विभिन्न समस्या गर्दा अन्य भौतिक संरचना भन्दा पनि व्यक्तिको निजि आवास निर्माणमा कठिनाइ देखिएको छ ।
भुकम्प पीडितलाई घर दैलोमा नै कानुनी सहायता दिने उद्देश्यका साथ राष्ट्र निर्माण मञ्चले मंगलबार सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा आयोजना गरेको सामुदायिक घुम्ती क्लिनिकमा सर्वसाधारणले गुठी संस्थानले गर्दा समस्या भएको बताएका छन् ।
स्थानीय रामकुमार कार्कीले नगरपालिकाले नक्सा पासमा जनप्रतिनिधि आएपछि सत प्रतिशग छुट गरेको तर गुठी संस्थानले भने प्रति स्क्वाएर फुट १४ रुपैयाँको दरले नक्सा पास शुल्क लिएकाले पीडितहरु मर्कामा परेको बताए ।
कार्कीले भने ‘वर्षौंदेखि गुठीको जग्गामा पसिना बगाउदैं आएका मोहीहरुले सोही जमिनमा घर बनाउनकोलागि गुठीको सिफारिस लिन जादाँ शुल्क लिदाँ पैसा लिएकाले समस्या भयो ’ ।
साविकको चित्तपोल गाविसको वडा नम्बर ५ देखि ९ सम्म धेरै भुकम्प पीडितहरुले गुठीको जग्गा पुस्तौंदेखि भोगचल गर्दै आएको सोही वडाका स्थानीय बासिन्दा हरुले बताए । उक्त कार्यक्रममा अधिवक्ता अनिल श्रेष्ठले विपदपछि यो समय पूर्ननिमार्णको चरण भएका भुकम्प पीडितहरुले सरकारी नियम र मापदण्ड पालन गरेर घर बनाउनु पर्ने बताए ।
उनले यसरी पूर्ननिमार्ण घर भुकम्पको जोखिम नहुने र राज्यले दिएको अनुदान समेत लिन सजिलो हुने बताए । कार्यक्रममा संस्थका अध्यक्ष निर्मल कुमार उप्रेतीले भुकम्पपछिको पूर्ननिमार्ण क्रममा आएका कानुनी जटिलताको समाधान गर्न काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा र सिन्धुपाल्चोकमा यस्ता सामुदायिक घुम्ती क्लिनिक आयोजना हुदैं आएको बताए ।
२०६९ चैतमा सुरु भएको संस्थाले अघिल्लो वर्ष विभिन्न जिल्लाका ९२ र यो वर्ष ३० स्थानमा यस्तो क्लिनिक आयोजना भइसकेको समेत बताए ।
कार्यक्रममा सोही वडा वडा अध्यक्ष शिवराम राउत, अधिवक्ता सुमन न्यौपाने, संस्थाका प्रतिनिधि सुवाश तिमल्सिना लगायतले भुकम्प पीडितहरु आगामी असोजसम्ममा सबै किस्ता लिएर घर बनाइसक्नु पर्ने भएकाले समयमा पूर्ननिर्माण गर्न जोड दिएका छन् ।