भक्तपुर, १३ भादाै । कुनैपनि मुलुक भूगोलले मात्र सानो वा ठूलो नहुने नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले बताउनुभएको छ ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन भक्तपुर शाखाले वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठको सम्मानमा आयोजना गरिएको कार्यक्रममा पन्तले कुनै पनि मुलक उसको इतिहास र पृष्ठभूमिले ठूलो वा सानो हुने बताउनुभयो । राष्ट्रियता र स्वाभिमानका निम्ति एमालेले कसैसँग पनि सम्झौता नगर्ने बताउँदै पन्तले भन्नुभयो–‘नेपालको इतिहास अध्ययन गर्ने हो भने भारतको भन्दा पूरानो पृष्ठभूमि भएकाले उसले नेपाललाई सानो भनि होच्याउन मिल्दैन ।’
स्थानीय तहको निर्वाचनमा भक्तपुरमा ऐतिहासिक सफलता हासिल गर्नुमा सबै जनवर्गीय संगठन, इमान्दार कार्यकर्ता र पार्टी नेतृत्वको संयुक्त मिहिनेतको प्रतिफल रहेको पन्तले बताउनुभयो । अबको संघ र प्रदेशको निर्वाचनमा समेत नेकपा एमाले पहिलो पार्टी बन्ने पन्तले बताउनुभयो । राष्ट्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न समेत नेकपा एमालेको ऐतिहासिक विजय आवश्यक भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले कुनैपनि पेशागत संगठनहरुले आफ्नो मूल्य र मान्यतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । मुलुक संक्रमणकालको अन्त्यति पुग्न लाग्दा स्थानीय तह भने संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताउँदै मिश्रले भन्नुभयो–‘पर्याप्त कानुनको अभावमा स्थानीय निकाय सञ्चालन गर्न जनप्रतिनिधिहरुलाई कठिन भइरहेको छ ।’
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष रुद्र नेपालले कानुन व्यवसायीहरुले आफ्नो व्यवसायिक धर्म, मूल्य र मान्यतालाई आत्मसाथ गरी मुलुकको निम्ति क्रियाशील हुनुपर्ने बताउनुभयो ।
सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठले वरिष्ठ अधिवक्ताको पद प्राप्त गरेपछि आफूमाथि कानुन र न्यायको क्षेत्रमा अझ बढी जिम्मेवारी र दायित्व थपिएको बताउनुभयो । सर्वाेच्च अदालतको श्रावण २५ गते निर्णयबमोजिम आफू जिल्लाको वरिष्ठ अधिवक्ताको पदवीबाट सम्मानित हुन पाउँदा अत्यन्तै गर्व लागेको समेत श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन भक्तपुरका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले न्याय र कानुनका क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व दुर्गामोहन श्रेष्ठलाई वरिष्ठ अधिवक्ताको रुपमा सम्मान गर्न पाउँदा जिल्लाभरिका कानुन व्यवसायीहरु समेत हर्षित भएको बताउनुभयो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नंं ४ मा विक्रम सम्वत् २०१४ सालमा जन्मनुभएका दुर्गामोहन श्रेष्ठ २०४० सालदेखि कानुन व्यवसायीका रुपमा क्रियाशील रहँदै आउनुभएको छ । सर्वाेच्च अदालतको २०७४ श्रावण २५ गतेको निर्णयअनुसार देशभरका २७२ जना कानुन व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको पदावधि प्रदान गर्ने क्रममा भक्तपुर जिल्लाबाट दुर्गामोहन श्रेष्ठ एकमात्र कानुन व्यवसायी हुनुहुन्छ । उहाँलाई प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं कानुन विभागका इन्चार्ज रघुजी पन्तले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।