काठमाडौ, १५ साउन। आज साउन १५, खीर खाएर मनाइदैछ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ । वर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिषहरु बताउँछन् । तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ ।
साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरू सोमबार व्रत बस्छन्। साउन महिनाभरि हिन्दु धर्मावलम्बीहरू साकाहारी हुने गर्छन्। त्यसैले साकाहारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। त्यसो त साउन १५ लाई खीर खाने पर्वको रूपमा लिइन्छ।
साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा खीर उपयुक्त मानिन्छ। खीर हामी सबैलाई मन पर्नेमध्येको परिकार हो। हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं। साउनमा त अझ खीरको प्रयोग बढी हुने भएकाले यस पटक हामीले स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधि यहाँ प्रस्तुत गरेका छौं।