कालिकाेट, जेष्ठ २४ । कालिकोटको रास्कोट नगरपालिका–७ की मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ ल्याइएकाे छ । क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको सम्पूर्ण जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।
सोमबार काठमाडौं लगिएकी मनसरालाई मंगलबार बिहानै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफुले बेहोर्ने बताउँदै बालिका र उपचारमा सहयोगी गएका बुबा रने लुहारसहित आफन्त कालिबहादुर महतारालाई साथमा लगेको हो ।
नेकपाले मंगलबार बिहानै कलंकीमा पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण क्यान्सरबाट पीडित बालिकाको उपचारको जिम्मेवारी आफुले लिने बताएको थियो ।
पत्रकार सम्मेलनमा नेकपाका पोलिट ब्युरो सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज रहनुभएका भरत बम(रणवीर)ले पार्टीकै पहलमा काठमाडौं ल्याइएकोले अब उपचार पनि पार्टीकै पहलमा हुने बताउनुभएको थियो । पत्रकार सम्मेलनकाे क्रममा बमले जहा दुःखी जनताहरु छन् जहा हसाह्य तथा असक्तहरु छन त्याहा नेपाल कम्यूनिष्ट पार्टी सदैव रहने पनि वताउनुुभयाे ।
पत्रकार सम्मेलन लगतै वीर अस्पतालमा उपचारका लागि पुर्याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नै टिचिङ अस्पताल महाराजगंजमा लगिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्रोतका अनुसार अहिले पोलिट ब्युरो सदस्य भरत बमकै संयोजकत्वमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
पार्टीले पनि मनसराको उपचारका लागि सबैले सहयोग गर्न अनुरोध गरेको छ ।