काठमाडौं, जेठ १८ । एमालेले बुधवारकाे संसद अवरुद्ध गरेकोप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमालेलाई ‘यो के ताल हो ?’ भनेर प्रश्न गरेका छन् ।
भरतपुरमा मतपत्र च्यातिएको र मतगणना सुरु नगरिएको भन्दै एमालेले हिजाे बुधबारकाे संसद अवरुद्ध गरेको थियाे । स्वतन्त्र संवैधानिक आयोगले भरतपुर घटनाको छानबिन गरिरहेका बेला सदन अवरुद्ध गरेर एमालेले गलत गरेको माओवादी केन्द्रकाे ठहर छ ।
श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘एमालेको के ताल हो यो ? लोकतन्त्रको कुरा गर्ने, अनि निर्बाचन आयोगले गर्ने कामको निम्ति संसद बैठक अबरुद्द गर्ने । यो पनि हद भयो । जे गरे पनि हुन्छ ?’
एक अनलाइन न्यूज सँग कुरा गर्दै उनले बरु निर्वाचन आयोग घेर्न जान एमालेलाई सुझाव दिए । भरतपुर घटनाको छानबिन सरकारले गर्ने विषय नभएकाले संसद अवरुद्ध गर्नु एमालेको गलत काम भएको नेता श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भने, ‘भरतपुरमा जे भयो त्यो ठीक भएन भनेर हामीले भनिरहेका छौं । निर्वाचन आयोगले पनि अनुगमन गरेर छानबिन गरेको छ । उसले स्वतन्त्र निर्णय गर्न पाउँछ । तर निर्वाचन आयोगले अनुसन्धान गर्ने विषयलाई लिएर सदन अवरुद्ध गर्नु गलत भयो ।’