त्रिशूली । दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेको हो ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यो वर्ष पनि विभिन्न जाती र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिए । उनको अनुसार वितगमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाती र दलित जातीका विभिन्न २२ थरका दुईसय पैतालिस परिवारले एकै स्थानमा जमरा राखेका छन् ।
“स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ ।” पुजारी पौडेलले भने “विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।”
नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ ।