काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । इन्धन महँगिएसँगै विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा वृद्धि भएकाे छ ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।
आइतबार मध्यरातबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटरमा २१ रुपैयाँ बढाउँदै १९९ रुपैयाँ र डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर १९२ रुपैयाँ कायम गरेपछि स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप भन्दै विभागले यातायातमा भाडा बढाएको हो ।