काठमाडौं, १५ वैशाख । आजदेखी जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई महानगरीय ट्राफिक महाशाखाले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएका छन ।
काठमाडौं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि राखिएको जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि समेत कडा कारबाही गर्ने चेतावनी बताए ।
महानगरीय ट्राफिक महाशाखाले सवारी चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याएको हो ।
महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडाैंमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।