नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझायाे ज्ञापनपत्र

अनलाइन दर्पण 2021-06-20
img

भक्तपुर, ६ असार । नेपाल पत्रकार महासंघ भक्तपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चार माध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै महासंघले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष जगतकृष्ण प्रजापतिले बताउनुभयो । 

ज्ञापनपत्रमा ‘निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चार माध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्यमान्यतालाई समेत उपहास हुने गरी बागमती प्रदेश सरकार आफैंले सञ्चार माध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको हाम्रो ठहर छ, विज्ञप्तीमा उल्लेख छ ।

प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आमसञ्चार माध्यम स्थापना र सञ्चालन गर्न दश करोड रुपैंयाँ विनियोजन गर्नु प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको महासंघ भक्तपुर शाखाले आरोप लगाएको छ ।

‘संघीय सरकार मातहत रहेका सञ्चार माध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आमसञ्चार गृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे छ, ज्ञापनपत्रमा उल्लेख छ ।

देशभरका ६६ प्रतिशत सञ्चार माध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमती प्रदेशमा रहेको भन्दै महासंघ भक्तपुर शाखाले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोक कल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ ।

महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदैं सञ्चार माध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन शाखा अध्यक्ष प्रजापतिको नेतृत्वमा शाखाका संस्थापक सभापति रमेश खड्का, पुर्वअध्यक्षहरु विकल प्रसाद श्रेष्ठ, महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् शाखाका पुर्वअध्यक्ष अमर भुजु, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, शाखा उपाध्यक्ष सुन्दर शिल्पकार, शाखा सचिव संजीप घिमिरे, सदस्य विकास थापा लगायतको उपस्थिती थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महासंघको प्रेस ताथ अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चार माध्यमहरु प्रतिको निष्ठाको उच्च सम्मान गर्दै ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार