भक्तपुर, २२ चैत ।भक्तपुरको चाँगुनारायण नगरपालिकामा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने नाममा मानव बस्ती र विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरसमेत जोखिममा पर्ने गरी बालुवा उत्खनन भइरहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थल निर्माणका लागि नगरपालिकाले ९३ रोपनी क्षेत्रफल ओगटेको डॉडो सम्याउन आयठेक्कामा आगन्जा कन्स्ट्रक्सन कम्पनी प्रालिलाई जिम्मा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताविपरीत बालुवा उत्खनन गर्दा चाँगुनारायण मन्दिरसहित बुढाथोकी गाउँको जमिन भासिने जोखिम बढेको छ।
चाँगुनारायण नगरपालिकाले मैदानस्थल निर्माणका लागि १७ असार ०७७ मा आगन्जा कन्स्ट्रक्सन कम्पनीलाई वडा नम्बर ५ र ७ मा पर्ने कित्ता नम्बर ३१६ र ३१७ जग्गा दिएको थियो।
दुई वर्षका लागि दिइएको आयठेक्कामार्फत गरिएको सम्झौतामा आगन्जाले निर्माणस्थलबाट संकलन भएको निर्माण सामग्री बेचबिखन गरी आठ करोड ६३ लाख ५५ हजार ६५ रुपैयाँ मुआब्जा करबाहेक किस्तामा बुझाउने गरी ठेक्का सम्झौता भएको हो । तर, ठेकेदार कम्पनीले भने सम्झौताविपरीत जमिनको लेभलभन्दा तलबाट बालुवा उत्खनन गर्दा स्थानीय बस्ती, खानेपानीका मुहान र चाँगुनारायणको मन्दिर रहेको स्थानसमेतमा असर पर्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
नगरपालिकासँग गरिएको सम्झौतामा खेतको लेभलसम्म मात्रै बालुवा उत्खनन गर्न पाउने उल्लेख छ। तर, ठेकदार कम्पनीले भने जमिनको सतहमुनि २० देखि २५ फिट गहिरो खनी बालुवा निकालेको स्थानीयले गुनासो गरेका छन् ।
जमिनको सतहमुनि उत्खनन गर्दा बुढाथोकी गाउँ पहिरोको जोखिममा पर्ने देखिन्छ, जसको सीधा असर डाँडामाथि रहेको चाँगुनारायण मन्दिरमा पर्न जान्छ ।-नयाँ पत्रिकामा प्रकाशित खबर ।