काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसले स्थानिय तहको निर्वाचनकालागि तयार पारेको पार्टीको घोषणापत्र आज मंगलवार दिउँसो सार्वजनिक गर्ने भएको छ । सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे विशेष कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । तीन खण्डमा बाँडिएको घोषणापत्रमा काँग्रेसको राजनीतिक पृष्ठभुमी, ऐतिहासिक विरासत र उपलव्धी र स्थानिय सरकार र हाम्रो संकल्प भनेर उल्लेख गरिएको छ ।
घोषणापत्रको पहिलो खण्डमा स्थानिय स्वायत्त शासन समसामयिक राजनीति र अबको एजेण्डा लगायतका विषय बस्तु समेटिएको छ । दोस्रो खण्डमा नेपाली काँग्रेसले विगतमा पुर्याएको योगदानको चर्चा गरिएको छ भने तेस्रो खण्डमा स्थानिय सरकार र हाम्रो संकल्प शिर्षकमा काँग्रेसले आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभुतीको संकल्प पेश गरेको छ ।
स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने विषय पार्टीको घोषणापत्रमा समावेश गरिएको बुझिएको छ ।
निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय काँग्रेसको प्रतिबद्धता हुनेछ भनिएको छ ।
नेता महेश आचार्य नेतृत्वको समितिले यसअघि विभिन्न चरणमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो ।
काँग्रेसले स्थानिय तहको चुनावको लागि केहि नारा पनि तय गरेको छ । काँग्रेसले भनेको छ, ' मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं !' ' समाजको विभाजन होइन, एकता रोजौं !! ' ' अतिवाद होइन, समृद्धि र मध्यमार्ग रोजौं !' ' शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं !! '
सरकारले यही वैशाख ३१ गते र आगामी जेठ ३१ गतेगरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।