काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको अभियोगमा डीआईजी नवराज सिलवाललाई पक्राउ गरेर झण्डै आठ घण्टापछि बयान लिएर छाडेको छ। सिलवाललसंगै कानून ब्यवसायी शम्भु थापालाई पनि विहान नियन्त्रणमा लिइएको थियो ।
कार्यसम्पादन मूल्यांकनको गलत रिपोर्टका आधारमा प्रकाश अर्याललाई आईजीपी बनाएको भन्दै सिलवाल सर्वोच्च पुगेका थिए । गलत मूल्यांकन विवरण पेश गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
डीआईजी सिलवाललाई प्रहरी हेडक्वाटर लगेर सोमवार बयान लिइएको थियो । बयानपछि सिलवाललाई घरमा नै लगेर छाडिएको छ । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालकाअनुसार गृहले गठन गरेको समितिले नै बयान लिएको र सिलवाललाई छाडिएको हो ।
गृहको समितिले सिलवालसँग बयान लिएकै दिन बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सोमवार नै बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बयान सकेलगत्तै सिलवालको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँचपछि उनलाई उनकै निवासमा लगेर स–सम्मान छाडिएकोको छ ।