काठमाडौं, ६ वैशाख । बैशाख ३१ गते हुने निर्वाचनका लागि दलहरुले अहिले चुनावी प्रचार प्रसारलाई तिब्र पारेका छन् । विभिन्न माध्यमबाट पार्टीका जनतालाई पार्टीका एजेन्डाहरु सार्वजनिक गर्नमै दलहरु व्यस्त छन् । यही क्रममा नेकपा एमालेले चुनावी गीत सार्वजनिक गरेको छ ।
सरकारको मुख्य प्रतिपक्षी दल समेत रहेको नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि जनताका बीचमा जान साङ्गीतिक तयारीसमेत गरिरहेको छ । एमालेको चुनावी प्रचारका लागि चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले ‘घामलाई दिनुहोस्, भोट कल्लाई ? उज्यालो घामलाई दिनुहोस, देश बनाउने जिम्मेवारी हाम्लाई दिनुहोस् । नेकपा एमाले जिन्दावाद ! भोट केमा सूर्यमा जिन्दावाद !!’ बोलको चुनावी गीत तयार पारेका छन् ।
गीतमा छिमेकीले नेपालमाथि हेर्न कुदृष्टि, राष्ट्रियता, राष्ट्रियतामा एमालेको भूमिका, लगायतका बारेमा बर्णन गरिएको छ । गीतमार्फत् हिमाल, पहाड, तराईका सबै नेपाली लामो समयदेखि मिलेर बसेको भन्दै अहिले केहीले पहाडलाई फुटाएर पराई बनाउन खोजेको भन्दै त्यसका विरुद्ध लाग्नसमेत आग्रह गरिएको छ ।
छिमेकीले हड्पको जमिन फिर्ता पाउनुपर्ने, नेपालीले बनाएको संविधान नेपालीलेनै कार्यान्वयन गर्न पाउनुपर्ने भाग गीतमा छ ।
साथै देश विकासका लागि अब नेकपा एमालेको आवश्यकता मुलुकमा भएको भन्दै अबको चुनावमा एमालेलाई बहुमतले जिताएर पठाउन आग्रह गरिएको छ । एमालेका नेताहरू देश विकासमा डटेर लाग्ने भन्दै देशै बेच्न खोज्नेलाई नेतृत्वबाट हटाउनसमेत जनतालाई एमालेको चुनावी गीतमा आग्रह गरिएको छ ।
करिब नौं मिनेट लामो उक्त गीत युट्युव च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको छ ।