युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको निधन

अनलाइन दर्पण 2020-05-17
img

काठमाडौं । बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । 

बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले  बताए ।

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अध्यक्ष टण्डनले बताए । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’

मल्टी अर्गान फेलिएरबाट मृत्यु


टण्डनका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताए । 

अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताए । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । तर त्यही समयमा पनि उनले मदिरा सेवन गरेको कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।

बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका विष्णु केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्री सहित १२ जनालाई जेल सजाय सुनाएको थियो । 

लामो समय भारतमा लुकेर बसेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई २०७२ सालको साउनमा महानगरीय अपराध माहाशाखाको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै जेल चलान भएका क्षेत्री लगायतले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

उच्च अदालत पाटनले सञ्चालक विष्णु सहित १२ जनालाई २७ कात्तिक २०७४ मा ठगी मुद्दाबाट सफाई दिएको थियो । यद्यपि राजश्व छलीमा कति रकम छली भएको हो एकिन गरेर भराउन तथा बिना इजाजत आर्थिक कारोबार गरेको मुद्दामा भने ७ जना सञ्चालकलाई ६ महिना कैद र जनही ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

उच्च अदालतबाट फैसला आउँदा ६ महिना कैद भुक्तान गरिसकेको कारण क्षेत्री त्यसलगत्तै रिहा भएका थिए । 

जेलबाट छुटेपछि क्षेत्रीले अत्याधिक मदिरा सेवन गर्न थालेको उनी निकट एक व्यक्तिले बताए । उनले भने, ‘क्षेत्रीलाई सामाजिक, आर्थिक र पारिवारिक तनाब थियो । त्यही कारण उनी अत्याधिक मदिरा पिउने गर्दथे । मदिराकै कारण उनको मल्टीअर्गान फेलिएर भएर मृत्यु भयो ।’

सम्बन्धित समाचार