भक्तपुर, २ जेठ । कोरोना भाइरस अर्थात (कोभिड १९) को उच्च जोखिम बढेसँगै भक्तपुर जिल्लामा कार्यरत २६ जना पत्रकारको आज स्वाब परीक्षण गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको समन्वयमा जिल्लामा कार्यरत क्रियाशिल २६ जना पत्रकारको स्वाब परिक्षण गरिएको हो ।
भक्तपुरमा पनि कोरोना संक्रमित देखा परेपछि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको समेत जोखिम बढ्दो अवस्थालाई मध्यनजर गर्दै स्वाब परिक्षण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।
नगरपालिकाका प्रमुख एवं अस्पतालका अध्यक्ष मदनसुन्दर श्रेष्ठले कोरोनाको जोखिम बढ्दो अवस्थामा देखिएपछि प्रत्यक्ष फिल्डमा गएर काम गर्ने पत्रकारहरुको स्वास्थ्यलाई ध्यान दिँदै उनीहरुको स्वाब परिक्षण गरिएको बताए ।
उनले फिल्डमा काम गर्र्दा बढ्दो जोखिमका कारण पत्रकारले समेत मानसिक त्रास बोक्नु पर्ने भएकाले सो अन्त्य र आफ्नो स्वास्थ्यका बारे जानकारी लिन समेत सहज हुने भएकोले आज भक्तपुरमा कर्म थलो बनाएर काम गरिरहेका पत्रकारहरुको स्वाब परिक्षण गरिएको बताए ।
स्वाब परिक्षण गराउन आएका पत्रकारहरुले समेत यसरी मध्यपुर नगरपालिकाद्व्रारा सञ्चालनमा रहेको अस्पतालले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वाब परिक्षण गर्ने काम जुन गर्यो त्यो सकारात्मक भएको बताए ।
त्यसैगरी गत बुधबार स्वाब सङ्कलन गरेको ७० जना जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ आएको छ । आज बाँकी रहेका जनप्रतिनिधि र पत्रकारको स्वाब सङ्कलन गरिएको हो ।