२१ हजार मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण सुरु

अनलाइन दर्पण 2017-04-04
img

काठमाडौं, २३ चैत्र। आगामी  वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागी मतदाताका  घर घरमा गएर मतदातालाई  मत हाल्न सिकाउने २१ हजार मतदाता शिक्षा कार्यकर्ताका लागि देशका ७५ जिल्लामा प्रशिक्षण दिने कार्य सुरु भएको छ । २१ हजार निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयमवकले एक करोड ४० लाख ५४ हजार ४८२ जना मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ । एक जना मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ जना मतदाताका दरले एक महिनामा ६७० जना मतदातालाई मतदाता शिक्षा प्रदान गर्नुपर्ने छ । गोरखापत्रमा खबर प्रकाशित छ ।

निर्वाचन आयोगले चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी गरेको छ । क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँले मङ्गलबारदेखि ७५० जना मतदाता शिक्षा कार्यकर्ता तथा स्वयम्सेवकका लागि मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै आयोगका सचिव गोपीनाथ मैनालीले एक जना मतदाताले एउटै मतपत्रबाट सात जना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्ने र उम्मेदवार पनि धेरै र मतपत्र पनि ठूलो हुने भएकाले बढी मेहनत गर्न आग्रह गर्नुभयो ।

आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुखमध्ये दलहरूले उम्मेदवारी दर्ता गराउँदा ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था छ भन्नुभयो । पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइने छ ।

सम्बन्धित समाचार