लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय

अनलाइन दर्पण 2020-05-05
img

काठमाडौं, २३ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ। मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढ्न सक्ने संकेत गरेको हो। 

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए। लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उहाँले ‘लक डाउन लम्बिन सक्छ’ भने। 

नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनले बताए। मन्त्रिपरिषद् बैठकमा लक डाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ।

लक डाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ। यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।’’ प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो।

सम्बन्धित समाचार

Advertisement