काठमाडौं, १६ बैशाख । प्रहरीले काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरेको छ । यसअघि केही खुकुलो देखिएको लकडाउन मंगलबारबाट थप कडा पारिएको हो । अरू दिनको तुलनामा आज काठमाडौं उपत्यकका विभिन्न स्थानमा सवारी जाँच पनि कडा पारिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न लकडाउनको पूर्ण पालनाको विकल्प नभएको बताए । डीआईजी पोखरेलले भने, “अत्यावश्यक काम र पासबिना गुड्ने सवारी र व्यक्ति दुवैलाई नियन्त्रणमा लिएका छौं । लकडाउन मिच्नेविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौं ।”
नयाँ बानेश्वर, सिंहदरबार, त्रिपुरेश्वर, हनुमानथान, थापाथली, टेकु, दरबारमार्गलगायत मुख्य–मुख्य चोकमा प्रहरी चेकिङ कडा पारिएको छ । यस्तै आजबाट काठमाडौं उपत्यका भित्रिने र बाहिरिने कार्यमा पूर्ण रोक लगाइएको छ । यसअघि स्थानीय तह, मन्त्री, नेता र सांसदको पहलमा अघोषित रूपमा काठमाडौंबाट नागरिकलाई बसमा लगिएको थियो ।
लकडाउन केही खुकुलो भएको पाइएपछि सोमबार गृह गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको हो ।