काठमाडौं, चैत २० – नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलार्इ चुनाव चिन्ह् आँखाको माग गर्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा प्रहरिले पक्राउ गरेको छ ।
घेराउ गर्न कान्तिपथस्थित आयोगको गेटनजिकै पुगेका बाबुरामलाई हिसिला र वैद्य माओवादीका उपाध्यक्ष सिपि गजुरेल सहित प्रहरीले भ्यानमा हालेर लगेको हो ।
बहादुर भवन नजिकैबाट डिएसपी सोमेन्द्र राठौरको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई दुईओटा ठुला ट्रकमा हालेर लगेको थियो । भट्टराई सहित ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिले महराजगञ्जमा लगेर राखिएको छ । केही बेरमा भृकुटीमण्डप स्थित कार्यालयमा ल्याइने स्राेतले जनाएकाे छ ।
नयाँ शक्ति सहित ६४ दलका कार्यकर्ताहरु आयोगको कार्यालय घेराउ गर्न पुगेका थिए । पक्राउ गर्नुभन्दा पहिले केहीबेर झडप पनि भएको जसमा नयाँ शक्तिका केही कार्यकर्ता घाइते भएको बताइएको छ ।
पक्राउ पश्चात् बाबुरामले सरकारको यो कदम अलोकतान्त्रिक भएको बताएका छन् ।
आसन्न चुनावमा निर्वाचन आयोगले संसद्मा प्रतिनिधित्व नगर्ने दलहरुलाई स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेपछि नयाँ शक्तिसहितका साना दलहरुले विरोध गर्दै आइरहेको छ ।
यसअघि डा. भट्टराईको नेतृत्वमा साना दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई ज्ञापन पत्र पनि बुझाएको थियो ।