रामेछाप, ९ वैशाख । लकडाउनका कारण सवारी साधन नपाएर काठमाडौंमा भोकभोकै भौंतारिएका र बाटोमै अलपत्र अबस्थामा रहेका नागरिकहरुलाइ सरकारले गन्तव्यमा पुग्न दिने खुकुलो नीति ल्याएको बेला अलपत्र परेकामध्ये ३ सयभन्दा बढी नागरिक आज बिहानसम्म रामेछापमा भित्रिएका छन् ।
विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस अर्थात (कोभिड-१९) का कारण बिगत १ महिनादेखि देश लकडाउनमा छ । लकडाउन लम्बिँदै जाँदा काठमाडौंबाट सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो थातथलोतर्फ लागेका छन् । भने कतिपय यसरी यात्रा गर्नेहरुलाई प्रहरीले रोकेर गृह मन्त्रालयलको आदेश भन्दै जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेको थियो । यसबिचमा हजारौँ मानिसहरु बिचबाटोमै अलपत्र अबस्थामा रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार मंगलबार बिहानसम्म सेलेघाट नाकाबाट १७ र सित्खा नाकाबाट एउटा गाडीमा गरी ३ सय १६ जना रामेछापका विभिन्न गाउँ भित्रिएका छन ।
जिल्लाबाट कुनै पनि यातायातका साधनलाई काठमाडौंमा अलपत्र परेका नागरिकलाई लिन जानका लागि सवारी अनुमति छैन । काठमाडौंमा रहेकाले यातायातका साधन व्यवस्था गरी फर्कंदा घरसम्म पुग्न दिने लचिलो नीति प्रहरीले अख्तियार गरेको छ ।
सोमबार रामेछापमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ‘लकडाउनका बेला जो जहाँ छ त्यहीँ रहने’ भन्ने सरकारको निर्णय भएकाले सवारी साधनलाई अनुमति दिन नसक्ने बताएकी थिइन् । तर जनप्रतिनिधिहरुले अन्य जिल्लामा सवारी साधनको व्यवस्था गरेर अलपत्र परेकालाई उद्धार गरेको बताउँदै सवारी साधनलाई अनुमति दिन आग्रह गरेक थिए । गरेकोले सवारी साधनलाई अनुमति दिनु पर्ने माग गरेका थिए ।
काठमाडौंमा रहेका जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी आपत् परेकालाई गाडीको व्यवस्था गरिएको जानकारी दिँदै उद्धार गरेका हुन् । गाडीभाडा भने यात्रुहरु आफैले तिरेका थिए । यात्रुलाई गन्तव्यमा पुर्याएर फर्कंदा भने सवारी साधनले काठमाडौंका लागि यात्रु लान नपाउने जनाइएको छ ।