गठ्ठाघरदेखि जगातीसम्म निःशुल्क खाना स्टेशन, दैनिक सयौलाई खाना खुवाइदै

अनलाइन दर्पण 2020-04-19
img

  रमेश गिरी

भक्तपुर, ७ वैशाख । हिँडेरै सिन्धुली जान लागेको रामप्रसाद कार्कीले आज पेटभरि खाना खाए । हिँडेरै आउँदा शनिबार कौशलटारमा प्रहरीले रोकेर ह्वाई पार्टी प्यालेसमा बास बस्ने व्यवस्था गरेपछि आज घर जानुअघि गठ्ठाघरको बर्गर हाउसमा उनीसँगै रहेका १५० बटुवा र अन्य ५० गरी २०० जनाले खाना खाएका छन् । आजबाट जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सञ्चालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेको हो । 

साँझ गाडीमा हालेर घर फर्काउने गरी पैदलयात्रुलाई रोकेको प्रहरीले शनिबार घर पठाउन नसकेपछि भोकै उनीहरुलाई आज पहिलो दिन बिहान ११ बजे एकैसाथ खाना खुवाएको नागरिक कम्युनिटी टिचिङ अस्पतालका सञ्चालकसमेत रहेका कासिछ्वाले जानकारी दिए । ‘माननीय महेश बस्नेतसँग पैदलयात्रुलाई खाना खुवाउनेबारे छलफल भयो, त्यहीअनुरुप आजदेखि खाना खुवाउन शुरु गरेका छौँ’, अध्यक्ष कासिछ्वाले भने, ‘आजदेखि १५ गतेको लकडाउनसम्म गठ्ठाघरमा दिउँसो १ बजेसम्म पैदलयात्री, सडक मानव, अस्पतालका बिरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकै हामी निःशुल्क खाना खुवाउँछौँ ।’

भक्तपुरमा कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको समन्वय र विभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिँदै कासिछ्वाले  भने, ‘खानेकुरा नभएर कोही पनि भोकै बस्नु पर्दैन, पैदलयात्रु कोही भोकै हिँड्नु पर्दैन, हामीले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेका छौँ, यहाँ आइदिनुस् ।

नजिकै रहेको नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिका मैत्री अस्पताल, मध्यपुर अस्पताल लगायतमा रहेका विरामी कुरुवालाई पनि खाना खान आउन आव्हान गर्दै उहाँले भक्तपुर अस्पताल र अन्य अस्पतालमा पनि कुरुवा र विरामीलाई समस्या परे खाना पुर्याउने बताउनुभयो । सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानु पर्ने, अति विपन्न मानिस भोकै छन् भने खाना खान आउँन आव्हान गरेको छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा भक्तपुरको जगातीमा हिजोदेखि नै पैदल यात्रु, सडक मानव, मजदुर एवं विपन्न वर्गलाई खाना खुवाउन सुरु गरेको छ । काठमाण्डौंबाट पूर्व भएर पैदल जाने यात्रुहरुलाई अरनिको राजमार्ग खण्ड अन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले मानवीय आस्था नेपालको सहकार्यमा लकडाउनभरी खाना खुवाउने व्यबस्था गरेको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडाध्यक्ष थापाले भन्नुभयो “हिडेर आएका पैदल यात्रुलाई प्रहरी बृत्त जगाती अगाडि सड्कमा रोकेर खाना खुवाउने, दिउँसो खाजा खुवाउने र बेलुका प्रहरीको समन्वयमा बिभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यबस्था गरेका छौ, अब हरेकदिन यो सड्कमा कोही भोकै हिड्नु पर्दैन ।” सिपाडोल परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यका अनुसार प्रहरीसंगको समन्वयमा थर्मल गनबाट पैदलयात्रीको तापक्रम परीक्षण गरि, सेनिटाईज गरि खाना खुवाउने व्यबस्था गरेको छ ।

त्यर्सगरी मानवीय आस्था नेपालले मानव सेवा घरसंगको समन्वयमा विगत २० दिनदेखि दैनिक सडक मानव, पार्टी, मन्दिर र गल्लीमा बस्दै आएका असाह्य मानिसहरुलाई दैनिक उनीहरु बसेकै ठाउँमा पुगेर खाना खुवाउदै आएको छ ।
मानवीय आस्था नेपालको समन्वयमा जिल्ला खेलकुद विकास समितिको सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र प्रहरी बृत्त थिमिलाई ज्वरो नाप्ने तीन थान थर्मल गन र ३८ थान टल्किने ज्याकेट (फ्लोर सेन्ट) सांसद महेश बस्नेतले हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरी भक्तपुरको पलाँसेमा कपडा बैंक स्थापना गरिने भएको छ । दाताले सहयोग गरेको लत्ता कपडा, जुत्ता, पानी गरिब असहाय र समस्या परेका पैदल यात्रुले निःशुल्क लैजाने गरी सांसद बस्नेत कै योजना अनुसार कपडा बैंक स्थापना गर्न लागेको सूनपा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।


लकडाउन सुरु भएपछि मानबीय आस्था नेपालले जिल्लाका चारवटै नगरपालिकामा गरिब, असहाय, मजदुर, अति विपन्न परिवारका लागि जिल्लाका चारवटै नगरपालिकामा खाद्यान्नहरु वितरण गर्दै आएको छ । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार भक्तपुरमा कोही पनि भोकै बस्नु नपरोस भनेर राहत वितरण र बिभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने स्टेशन संचालन गरेको जानकारी दिनुभयो ।


अलपत्रलाई भोकै हुन नदिने बताउदै उहाँले सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने वासको व्यवस्था गर्ने बताउनुभयो । प्रहरीसंगको समन्वयमा पैदल यात्रुहरुलाई खाना खुवाएर हिजोदेखि बिभिन्न गाडीमा राखेर घर फर्काउ व्यबस्था गरेको बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नजुभयो, “प्रधानमन्त्रीको जनभावना र निर्देशन अनुसार हामीले अभियान सुरु गरेका छौ, काठमाडौँ उपत्यका भित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ, कोही भोकै हुनुहुन्छ भने मेरो फेसबुकमा १० जनाको नम्बर छोडेको छु ती नम्बरमा फोन गरेर हामीलाई खबर गर्नुस्, अब हामी कसैलाई भोकै र अलपत्र पर्न दिने छैनौं ।”

 

 

सम्बन्धित समाचार