श्रीकृष्ण बुढाथोकी / दाेलखा, २३ पाैष । पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालिञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो ।
हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालिञ्चोक परेको छ । पर्यटक प्रायः कालिञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ । हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालिञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ ।
राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताउनुभयो ।
काठमाडौँबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौँ आन्तरिक पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा रहेका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटल समेत भरिभराउ छन् ।
राजधानी काठमाडौँबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ । धार्मिक आस्था तथा हिउँ खेल्नका लागि भारतीय पर्यटक दोलखामा आउने गरेको छ । नेपालकै तेस्रो केबुलकारसमेत कालिञ्चोकमा सञ्चालनमा रहेका कारण हिमाली क्षेत्रमा केबुलकारबाट मनोरञ्जन लिनका लागि समेत पर्यटक कालिञ्चोक पुग्ने गरेको पाइन्छ ।
केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालिञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् ।
यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । जिल्लामा परेको हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।