मध्यपुर थिमी । महानगरीय प्रहरी बृत्त ठिमीको पहलमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका ६ कुण्डोलमा नेपाल प्रहरीलागि परिवार आवास भवनकाे सिलान्यास भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासीकै सक्रियतामा प्रहरी परिवार आवास भवन निर्माण सुरु भएको हो ।
मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना देवी मधिकर्मी र भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन श्रेष्ठले बिहीबार प्रहरी परिवार आवास गृहको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
शिलान्यासपछि आयोजित सभामा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले प्रहरी र समुदायको सम्बन्ध अझै प्रगाढ बनाउन र मध्यपुर क्षेत्रको सुरक्षालाई अझै मजबुत बनाउन भवन निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।उहाँले देशभरका विभिन्न ठाउँबाट प्रहरी साथीहरु यहाँ आएर हामीलाई सुरक्षा दिनुभएको छ, हामीले पनि उहाँहरुको सुरक्षाकालगि यत्ति त गर्नैपर्छ भनेर भवन बनाउने निर्णय गरिएको बताउनुभयो ।
महानगरीय प्रहरी बृत्त ठिमी नजिकै कुण्डोलमा करिब एक रोपनी जग्गामा निर्माण हुने १० काेठे भवनका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
भवन बनेपछि भाडाका कोठामा परिवार राखेर प्रहरी सेवा गर्दै आएकाहरुलाई सेवामा रहन थप सहज हुने अपेक्षा प्रहरीको छ ।
देशैभरि कतै पनि प्रहरी जवानकै लागि भनेर परिवार आवास गृह नबनेको सन्दर्भमा यो नयाँ पहिल भएको महानगरीय बृत्त ठिमीका प्रमुख डिएसपी शान्तिराज कोइरालाको भनाई छ ।