भक्तपुर । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ दल नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न ११ राजनीतिक दलहरु र १० स्वतन्त्रले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, राप्रपा संयुक्त, समाजवादी पार्टी, नेकपा माले, साझा पार्टी, नेपाली कांग्रेस (वीपी), आमूल परिर्वतन पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्ना उम्मेदरको मनोनयन दर्ता गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले उपचुनावको लागि उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी राप्रपाबाट श्याम प्रसाद नेपाल, राप्रपा संयुक्तकाे तर्फवाट रामशरण लामिछानेले, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली कांग्रेस (वीपी)बाट मधुसुदन न्यौपाने, समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी, साझा पार्टीका तर्फबाट सुरज प्रधान, आमुल परिर्वतन पार्टीबाट डिल्ली प्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामाले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरि स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा रहेका छन् ।
उक्त क्षेत्रमा प्रदेश सभा सदस्यको लागि नेकपाको तर्फबाट स्व. हरिशरण लामिछाने विजयी हुनुभएको थियो । उहाँको २०७५ बैशाख ३१ गते भएकाे असमायिक निधनका कारण उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टी रहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन हुँदैछ । यो प्रदेशको निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा (नेकपा एमाले) नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित हुनुभएको थियो ।