फलेबासको सातु विदेश निर्यात

अनलाइन दर्पण 2019-11-04
img

पर्वत । फलेबासमा उत्पादित मकैलगायतका अन्न पिसेर बनाइएको सातु विदेश निर्यात हुन थालेको छ । सातु विकसीत मुलुक अन्तरगतका अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । 

फलेबास –४ का उद्यमी थानेश्वर भुसालले उत्पादन गरेको मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरी विदेश निर्यात गर्न लागेका हुन् ।

भुसालले सञ्चालन गरेको उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैंची, मरीचलगायतलाई मेसिनमा भुटेर बनाएको सातु बजारमा बिक्री गर्न थालेको हो । 

बजारमा अर्गा्निक खाजाको माग भइरहेकाले उद्योगले सातु बनाएर बिक्री गर्न सुरु गरेको भुसालले बताउनुभयो  ।

भुसालका अनुसार स्थानीय स्तरमा प्रशस्त पाइने मकै संकलन गरेर सातु उत्पादन गर्न थालेको एक वर्ष भयो । यसअघि भुसालले लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए । लप्सी, अदुवा र अमलाका अर्गा्निक परिकार माग गर्ने देशबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकार समेत माग हुन थालेपछि यस्तो जुक्ति निकालेको भुसालले बताउनुभयो ।

उहाँका अनुसार उत्पादित सातु कोसेलीका रूपमा काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमा समेत र्पुयाउने गरिएको छ । विभिन्न अर्गा्निक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेको स्थानीय प्रकाश भुसालले बताउनुभयो  । 

‘बजारका तयारी खाजाले मुख मात्रै नभएर स्वास्थ्यसमेत बिगारेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको विकल्पका रूपमा यो खाजा धेरै राम्रो छ ।’ गाउँघरमै पाइने अन्नको मिश्रणबाट उत्पादित यो सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाका लागि पनि खरिद गरेर लैजाने गरेका छन् ।उद्योगबाट उत्पादित सातुले राम्रो बजार पाएपछि स्थानीयले रोजगारी समेत पाएका छन् ।

सम्बन्धित समाचार